विर्तामोड । सम्झना कटुवालले समुन्नत नेपालमा आएर माला बनाउने काम गर्न थालेको एक बर्ष भयो । उनी विहान दस बजे विर्तामोडमा रहेको समुन्नतको कार्यालय तथा माला बनाउने उद्योगमा आउँछिन् र माला बनाउने काममा लाग्छिन् ।
उनलाई धेरै खुशी छ आफूले बनाएको माला पश्चिमी मुलुकहरुमा विक्री हुने गरेकोमा । उनी भन्छिन्, ‘हामीले बनाएको माला त्यहाँसम्म पुग्छ भन्ने त लागेकै थिएन । अहिले हामीले बनाएको मालाको लोकप्रियता बढेकोले हामीलाई त्योभन्दा अर्को खुशी हुनै सक्दैन ।’
उनी घरेलु हिंसा पीडित महिला होइनन् । तर घरेलु हिंसामा परेका महिलाको हक अधिकारका लागि स्थापित समुन्नत नेपालमा आएर आफू मेहेनत गर्छिन्, जसले हिंसामा परेका ति महिलाहरुका लागि आफ्नो मेहेनत पुर्याओस् । उनी भन्छिन्, ‘हामी जस्ता ति अवोध महिलाका लागि हामी यहाँ रहेसम्म मेहेनत गरिरहन्छौं ।’

झापा कालिस्थानकी प्रमिला आचार्य पनि घरेलु हिंसामा परेका महिलाका लागि आफूले गरेको मेहेनत सार्थक बनेकोमा खुशी छिन् । उनलाई गर्व लागेको छ, आफूले बनाएको माला विदेशसम्म पुगेर ख्याति कमाएकोले । आचार्य भन्छिन्, ‘जीवन चलाउनलाई पारीश्रमिक पनि पाइने, सीप पनि सिकिने । अझ समुन्द्र पारीका देशमा आफू पुग्न नसके पनि हाम्रो मेहेनत त पुगेको छ, त्यसैमा हामीलाई गर्व छ ।’
आचार्य, कटुवाल लगायत शर्मिला खड्का, गीता श्रेष्ठ, यसोदा पौडेल, सुशीला वाग्ले हिंसा पीडित नभए पनि उनीहरुको मेहेनत हिंसा पीडितको उद्धारका लागि हो । उनीहरुको मेहेनत हिंसा पीडित महिलाका लागि कानुनी सहायता तथा आवासका लागि भएको समुन्नतमा कार्यरत महिला बताउँछन् ।
समुन्नतको प्रयासमा विराटनगर घर भएकी परिवारबाट पीडा पाएकी कुमारी बरालले आफ्नो जीवनमा ठूलो परिवर्तनको आएको बताइन् । उनी पनि समुन्नत मै काम गर्छिन् । बरालले भनिन्, ‘मैले मेरो घरमा पाएको दुःख समुन्नतमा आएर सबै विर्सिएकी छु । मलाई श्रीमान् तथा सासु ससुराले दिएको यातनामा मल्हम पट्टि लागेको छ ।’
प्राय धेरै परोपकारी संस्थाहरुले अरुको सहयोगको अपेक्षा राख्छन् । तर समुन्नतको शरणमा आएका घरेलु हिंसा पीडित महिलाहरुले संस्थालाई टिकाइ राख्न हिंसा पीडित महिलाको सेवाका लागि आफैं उपाय खोजे । उनीहरुले सुरुमा पोतेबाट गहना बनाएर बजारमा बिक्री गरे । पछि अस्ट्रेलियाबाट पोलिमर क्ले ल्याएर गहना बनाउन थाले ।

कुमारीले भनिन्, ‘सुरुमा हामीले पोते बनाएर बजारमा विक्री गर्न सुरु गर्यौं । अहिलेको माग अनुसार पोतेले मात्र हुँदैन भनेर एकजना अस्टे्रलियन महिलाको सहयोगमा त्यहीँबाट पोलिमर क्ले ल्याएर माला बनाउन थाल्यौं ।’