विर्तामोड । अहिले युवा पुस्तामा १२ कक्षा सक्ने वित्तिकै विदेश जाने लहर छ । तर, झापा गाउँपालिका–६, झाँटी घर भएका एक जना युवाले भने विदेश छाडेर आफ्नै ठाउँमा व्यवसाय गर्ने जमर्को गरेका छन् ।
२३ वर्षीय मञ्जील पोखरेल वैदेशिक रोजगारीका लागि दूबई गए । साथीहरुसँग मिलेर त्यहीँ आईटी कम्पनी खोले र त्यहीँबाट अमेरिका जाने प्रक्रिया समेत सुरु गरे ।
‘साथीहरु मिलेर कम्पनी चलाइरहेका थियौं, पछिल्लो समय दूबईबाटै अमेरिका लागि एप्लाई गरिरहेका थियौं’, उनी सम्झन्छन्, ‘विजनेश गरिरहेकाले कम्पनीको ट्रान्जेक्सन अनुसार अमेरिका जानलाई गाह्रो पनि रहेनछ, केही साथीहरु त्यसैगरी गइसकेका थिए ।’ सबैको उद्देश्य विजनेस भिसामा अमेरिका छिर्ने र त्यतै बस्ने थियो ।
बरु घरमा भए अलि दुःख होला तर, दुबईमा कमाएजति त कमाइ हालौंला नि भन्ने लाग्यो । त्यसपछि उनको मञ्जील फेरियो, दूबई हुँदै अमेरिका सपना देखिरहेका उनी फेरि आफ्नै गाउँ आउने बाटो फर्किने निधो गरे ।
अरु साथीहरु झैँ उनी पनि दूबईस्थित अमेरिकी दूतावासबाट भिसा अन्तरर्वार्ताको मिति लिएर बसेका थिए । पर्खाइको अवधिमा कोठामा रहँदा उनले घरतिर सम्झिए । दूबईमै राम्रै आम्दानी भइरहेको सम्झिए ।
झापामा काका–ठूलोबुबाका हरेक घरबाट एकजना विदेशतिर हानिएको सम्झिए । सबैका घरमा बुबाआमा मात्र एक्लै भइरहेको सम्झिए ।
‘अनि मलाई लाग्यो, सबै विदेश मात्र जाने ? आफ्नै ठाउँमा केही गर्न नसकिने नै हो ?’, मञ्जील भन्छन्, ‘अमेरिका छिरेपछि फेरि कहिल्यै फर्किएर आइन्छ जस्तो पनि लागेन । बरु घरमा भए अलि दुःख होला तर, दुबईमा कमाएजति त कमाइ हालौंला नि भन्ने लाग्यो ।’ त्यसपछि उनको मञ्जील फेरियो, दूबई हुँदै अमेरिका सपना देखिरहेका उनी फेरि आफ्नै गाउँ आउने बाटो फर्किने निधो गरे ।
झापा गाउँपालिका–६ का पूर्ववडा सदस्य समेत रहेका बुबा मोहन पोखरेलसँग आफ्नो योजना सुनाए । आफ्नै ठाउँमा केही गर्ने छोराको योजना सुनेपछि स्थानीय एमाले नेता समेत रहेका पोखरेल पनि उत्साहित भए ।
‘परिवारमा व्यवसायसँग कोही पनि अहिलेसम्म जोडिएको थिएनन्, छोराले गर्छु भनेपछि खुशी लाग्यो’, उनी भन्छन् । त्यसपछि मञ्जीलको योजना अनुसार, व्यवसाय गर्ने योजनाको खोजी सुरु भयो ।
त्यसक्रममा आयुष उप्रेती नामक साथीमार्फत चिनजान भएका प्लाई व्यवसायीसँग उनको सम्पर्क भयो । पछि गुणस्तीय प्लाई उत्पादनमा चिनिएको शिखर प्लाईको झापा डिलर खोल्ने निष्कर्षमा मञ्जील पुगे । त्यहीअनुसार, उनले हजुरबुबा छविलाल र आमा विष्णुमायाको उपस्थितिमा शनिबार विर्तामोडको भद्रपुर रोडमा ‘शिखर होम डेकोर’ उद्घाटन गरे ।
मञ्जीलका अनुसार, ‘शिखर होम डेकोर’ झापाका लागि शिखर प्लाईको मुख्य विक्रेता भएपनि पसलमा घर निर्माणका लागि आवश्यक सिमेन्ट र रडबाहेकका हरेक सामग्री पाइन्छ ।
‘मोडुलर किचन, किचन डकुरेसन, ढोका, फर्निचर आइटम, केएनपी नेरोल्याक पेन्ट्स लगायतका सामान राखिएको छ’, उनले भने, ‘पसलमा जम्मा लगानी करिब ३० लाख पुगिसकेको छ ।’
कक्षा १२ सकिने वित्तिकै दुबई गएपछि उनले पढाइलाई निरन्तरता दिन पाएका थिएनन् । तर, एक वर्ष पनि त्यहाँ नबसी स्वदेश फर्किएपछि उनी विर्तामोडमै कुनै कलेजमा भर्ना भएर पढाइलाई समेत निरन्तरता दिने तयारी गरेका छन् ।
दुबई जानुअघि काठमाडौंमा रहँदा उनले ‘वाटर एटीएम’मा पनि काम गरेका थिए । उपत्यकाका विभिन्न ठाउँमा राखिएका वाटर एटीएम बुथमा एक रुपैयाँको डलर राखेपछि कप थापेर ‘फिल्टर’ गरिएको पानी पिउन पाइन्छ ।