झापा । झापाको बुद्धशान्ति ४ बर्नेमा रहेका शिरीषका बोट अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्। फुलेर राताम्मे बनेका शिरीषका बोट वरपर झुम्मिने मानिसहरूको संख्या बढ्दै गएको छ।
तर जति मानिसहरूको भीड बढ्दै जाँदैछ, फोहोरका थुप्रा पनि त्यति नै बढ्दैछन्। फोहोर बढ्दै गएपछि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंको नेतृत्वमा सोमबार भाइरल रुख वरपर सरसफाइ गरिएको छ।
पानीका बोतल, गुट्खाका खोल, प्याकेटका खानेकुराका प्लास्टिक तथा रक्सी/बियरका बोतल जहाँ पायो त्यही फाल्ने गरेकाले गाउँपालिकाले उक्त क्षेत्रको सरसफाइ गरेको हो। त्यसैले त्यहाँ पुगेर प्राकृतिक दृश्यको मजा लिने पर्यटकहरूलाई जिम्मेवार बन्न गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले आग्रह गरेका छन्।
सोमबार बिहान गरिएको सरसफाइ कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज भानु मगर नेतृत्वको प्रहरीको टोली, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ बुद्धशान्ति, बर्खा स्मृति प्रतिष्ठान तथा पतञ्जली योग समितिको सहभागिता रहेको थियो।
गाउँपालिका कार्यालयले उक्त क्षेत्रमा खुलेका पसल तथा स-साना होटलहरूका सञ्चालकहरूलाई सरसफाइमा ध्यान दिन सचेत गराएको छ। कार्यालयले सोमबार थप तीनवटा डस्टविन उक्त क्षेत्रमा राखेको छ।
तस्बिरहरूः