झापा- सुर्खेत वीरेन्द्रनगर–१ की १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा सुदूरपूर्वी नाका काँकरभिट्टामा दबाबमूलक प्रदर्शन गरिएको छ।
प्रगतिशील युवा क्लब मेचीनगर–१० धुलावारीको अगुवाईमा विभिन्न संघ-संस्थाहरूले सोमबार खबरदारी सभाको आयोजना गरेका हुन्।
मेचीनगर–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरबाट सुरु भएको मौन र्यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो।
र्यालीमा सहभागीहरूले बालिका हिंसा र बलात्कार विरुद्ध विभिन्न नारा लेखिएका प्लेटकार्डहरू प्रदर्शन गरेका थिए।
उनीहरूले ‘इनिशालाई न्याय देऊ’, ‘जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ’, र ‘नारीलाई डर होइन सम्मान चाहिन्छ’ जस्ता नाराका साथ विरोध जनाएका थिए।
बजार परिक्रमापछि इलाका प्रहरी कार्यालय काँकरभिट्टा अगाडि भेला भएका प्रदर्शनकारीहरूले खबरदारी सभालाई सम्बोधन गरेका थिए।
उनीहरूले इनिशा विकको जघन्य हत्यामा संलग्न अपराधीहरूलाई पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरे।
साथै, आगामी दिनमा यस्ता हिंसात्मक घटनाहरू दोहोरिन नदिन र समाजमा शान्ति सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
