झापा- कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ।
विभागीय मूल्य-मान्यता र आदेश-निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबलका साथ कर्तव्य निर्वाह गरेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।
डीएसपी लम्सालले फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर–५ जस्तो अतिसंवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।
उनको कुशल नेतृत्वका कारण कुनै पनि अप्रिय घटना नभई निर्वाचन सफलतापूर्वक सम्पन्न भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
जेनजी (Gen-Z) आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार खोजतलास गर्ने कार्यमा लम्साल निकै सक्रिय रहे।
सोही क्रममा प्रहरी कार्यालय नजिकैको झाडीमा लुकाइएको अवस्थामा मार्का–४ राइफल बरामद गर्न उनी सफल भए।
यसका साथै, सोही आन्दोलनसँग सम्बन्धित १० वटा मुद्दा दर्ता गरी सबै फछ्र्यौट गराउनुका साथै विभिन्न स्थानबाट १९ जना प्रतिवादीहरूलाई समेत उनले नियन्त्रणमा लिएका थिए।
आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी कार्यालय भवनको पुनर्निर्माणमा पनि लम्सालको विशेष योगदान रहेको छ। उनले स्थानीय निकाय, विभिन्न संघ-संस्था र सर्वसाधारणसँग समन्वय गरी कार्यालयको मर्मत, फर्निचर तथा विद्युतीय उपकरणहरूको व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गरे।
यस्तै, सामाजिक सुधारका क्रममा ध्वनि प्रदूषण गर्ने २१७ वटा मोडिफाइड मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।
लम्सालले चालु तथा पेन्डिङ मुद्दाका मिसिलहरू पुनःनिर्माण गर्न र हालसम्म विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गर्न अहम भूमिका निर्वाह गरेका छन्।
आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन र पदीय जिम्मेवारी उत्कृष्ट ढङ्गले वहन गरेको उच्च मूल्याङ्कन गर्दै उनलाई यो पुरस्कार प्रदान गरिएको हो।
