झापा — झापाको भद्रपुरमा प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध ब्राउन सुगरसहित सात जनालाई नियन्त्रणमा लिएको छ ।
गएराति छुट्टाछुट्टै दुई स्थानमा गरिएको विशेष अपरेसनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय भद्रपुर, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध ब्यूरो इकाई काँकडभिट्टाको संयुक्त टोलीले यो सफलता प्राप्त गरेको हो ।
प्रहरीले पहिलो कारबाही भद्रपुर-६ स्थित श्रवण यादवको घरमा गरेको थियो । गोप्य सूचनाको आधारमा राति ९:३० बजे पुगेको प्रहरी टोलीले खानतलासी गर्दा प्लास्टिकबाहेक ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।
यस घटनामा संलग्न ३१ वर्षीय श्रवण यादव, २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशीलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ ।
त्यसैगरी, सोही प्रहरी टोलीले राति १०:३० बजे भद्रपुर-५ स्थित बसपार्क क्षेत्रमा अर्को छापा मारेको थियो । त्यहाँबाट ब्राउन सुगरसहित थप चार जनालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेहरूमा ३० वर्षीय शुभम साह, ३० वर्षीय जयकरण कहार, ३५ वर्षीय दुलाल शेख र २९ वर्षीय मोहम्मद अमिरबाब रहेका छन् । प्रहरीका अनुसार दुलाल शेखको साथबाट प्लास्टिकबाहेक १० ग्राम २०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
