झापा- देशभर भोलिदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि झापा जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ ।
यस वर्ष झापाबाट कुल १७ हजार ६६३ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख कुमार बस्नेतका अनुसार कुल परीक्षार्थीमध्ये १५ हजार ४०१ जना नियमिततर्फका हुन् ।
त्यसैगरी, प्राविधिक धारतर्फ ५७४ जना र बाँकी परीक्षार्थीहरू ग्रेडवृद्धितर्फ रहेका छन् । यस पटक झापाका १६३ सामुदायिक र २४५ संस्थागत गरी कुल ४०८ वटा विद्यालयहरू परीक्षामा सहभागी हुँदैछन् ।
विद्यार्थी संख्याको लैङ्गिक विवरण अनुसार नियमिततर्फ ७ हजार ७२३ छात्रा र ७ हजार ६७८ छात्रहरू रहेका छन् । यस्तै, ग्रेडवृद्धि परीक्षामा १ हजार २०९ छात्रा र १ हजार ५३ छात्रहरू सहभागी हुने प्रमुख बस्नेतले जानकारी दिएका छन् ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्लाका सबै परीक्षा केन्द्रहरूमा आवश्यक व्यवस्था मिलाइएको छ ।
