काठमाडौँ- नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण र गैरकानूनी ठहर गरेको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले सरकारको यो कदम लोकतान्त्रिक मूल्य र कानूनी शासनको मर्म विपरीत रहेको निष्कर्ष निकालेको हो।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै गिरफ्तारीको कडा निन्दा र भर्त्सना गरे। एमालेले पक्राउ परेका दुवै नेतालाई तत्काल रिहा गर्न माग गरेको छ। महासचिव पोखरेलका अनुसार सरकारले पूर्वाग्रही ढंगले कदम चालेको भन्दै एमालेले यसको राजनीतिक र कानूनी दुवै रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।
एमालेले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको दाबी गरेको छ। सो घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा एक उच्चस्तरीय छानबिन आयोग गठन गर्न एमालेले माग गरेको छ। साथै, नागरिक समाज, राजनीतिक दल र आम जनसमुदायलाई लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि एकजुट हुन आह्वान गरिएको छ।
विरोधका कार्यक्रम र जिम्मेवारी बाँडफाँट
गिरफ्तारीको विरोधमा एमालेले भोलि, चैत १५ गते आइतबार, देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र बुझाउने निर्णय गरेको छ।
पार्टी सम्बद्ध जनसंगठनहरूले आजैदेखि सडकमा विरोध प्रदर्शन सुरु गर्ने महासचिव पोखरेलले जानकारी दिए।
अध्यक्ष ओलीको गिरफ्तारीले संविधान र लोकतन्त्र पक्षधरहरूलाई चिन्तित तुल्याएको उल्लेख गर्दै एमालेले सम्पूर्ण पार्टी पंक्तिलाई विचलित नभई एकताका साथ अगाडि बढ्न निर्देशन दिएको छ।
