झापा- जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी साधनहरूमा अनाधिकृत रूपमा जडान गरिएका ‘प्रेसर हर्न’ हटाउने विशेष अभियान सुरु गरेको छ।
ध्वनि प्रदूषण नियन्त्रण गर्ने र सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्लाभर यो अभियान संचालन गरिएको हो।
अभियानको पहिलो दिन सोमबार जिल्लाका विभिन्न स्थानहरूमा गरिएको चेकजाँचका क्रममा ७३ वटा प्रेसर हर्न निकालिएको छ।
यसक्रममा ट्राफिक नियम उल्लंघन गर्ने ११ वटा सवारी साधनहरूलाई नियमानुसार कारबाही समेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।
प्रेसर हर्नबाट निस्कने अत्यधिक ठूलो आवाजले ध्वनि प्रदूषण मात्र नबढाई आम नागरिकको मानसिक तथा शारीरिक स्वास्थ्यमा समेत गम्भीर असर पुर्याइरहेको प्रहरीको निष्कर्ष छ।
हर्न हटाउने कार्यसँगै ट्राफिक प्रहरीले यसको नकारात्मक प्रभावका बारेमा चालक र सर्वसाधारणलाई जानकारी दिन जनचेतनामूलक कार्यक्रमहरू पनि सँगसँगै अगाडि बढाएको निरीक्षक राईले बताए।
