झापा- झापाका छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।
दमक नगरपालिका-५ मा लागुऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले हिजो दिउँसो ३ बजे छापा मारेको थियो।
सो क्रममा स्थानीय २४ वर्षीय मोहन यादवको कोठाबाट खानतलासी गर्दा प्लाष्टिकसहित १४ ग्राम र प्लाष्टिकबाहेक ८ ग्राम ब्राउन सुगर फेला परेको हो।
यादवसँगको प्रारम्भिक सोधपुछका क्रममा सोही घरमा डेरा गरी बस्ने गौरीगंज-१ का २६ वर्षीय प्रवेश राईको समेत संलग्नता खुलेपछि प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको छ।
उनीहरूमाथि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।
यस्तै, लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको टोलीले हिजो साँझ ५:३० बजे पुरानो मेची पुलमा जाँच गर्ने क्रममा अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ।
भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे ६ प ७७२६ नम्बरको मोटरसाइकललाई रोकेर खानतलासी गर्दा शिवसताक्षी-७ दुधे बस्ने ३६ वर्षीय लाखबहादुर योङया पक्राउ परेका हुन्।
प्रहरीका अनुसार योङयाको साथबाट प्लाष्टिकबाहेक २ ग्राम १५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।
पक्राउ परेका तीनैजनामाथि लागुऔषध नियन्त्रण ऐनअनुसार कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
