झापा- झापा साइक्लिङ क्लबले जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पहिलोपटक ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको शुभारम्भ गरेको छ।
मेचीनगर–६ काँकरभिट्टास्थित पर्यटन कार्यालय परिसरबाट सुरु भएको यस अभियानको उद्घाटन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका हुन्।
पर्यटन कार्यालय मुख्य प्रवर्तक रहेको यस कार्यक्रमले साइकलका माध्यमबाट स्थानीय क्षेत्रको प्रचार-प्रसार गर्ने लक्ष्य राखेको छ।
यस अभियानअन्तर्गत सहभागीहरूले झापाका १२ वटा पालिकाहरूको भ्रमण गर्नेछन्। क्लबका सचिव हिमाल खरेलका अनुसार मेचीनगरबाट सुरु भएको यो यात्रा बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिवारी हुँदै बिर्तामोड नगरपालिका पुगेर समापन हुनेछ।
यात्रामा नेपाल र भारतका गरी कुल ५० जना साइकलयात्री सहभागी छन्, जसमा तीन जना महिलाको पनि सहभागिता रहेको छ।
टोलीलाई सहयोग गर्न २० जना गाइड, मेकानिक र स्वयंसेवकहरू खटिएका छन्।
विशेष गरी महिला तथा युवाहरूलाई साहसिक गतिविधिमा आकर्षित गर्न र स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउन यो कार्यक्रम आयोजना गरिएको हो।
यस यात्राले जिल्लाका सीमा क्षेत्र, धार्मिक स्थल, सिमसार र ग्रामीण भूभागलाई एकापसमा जोड्ने विश्वास गरिएको छ।
साथै, होटल, होमस्टे र स्थानीय भोजन सेवाको प्रवर्द्धन गर्दै झापालाई एक उत्कृष्ट ‘साइकलमैत्री पर्यटकीय गन्तव्य’का रूपमा चिनाउने क्लबको उद्देश्य रहेको छ।
