झापा । नेपालको लोकप्रिय मौलिक लाखे नाचको संरक्षणमा झापा बुद्धशान्तिका नेवार समुदायले सक्रियता देखाएका छन् ।
खासगरि बुद्धशान्ति २ मा बसोबास गर्ने नेवार समुदायले यस बर्ष पनि लाखे नाचको प्रदर्शनीलाई निरन्तरता दिएका छन् ।
जात्रा तथा विशेष अवसरमा प्रदर्शन हुने लाखे नाच नागपञ्चमीको अवसर पारेर सुरु गरिएको थियो । शनिवार जयपुरमा सामुहिक क्वाँटी खाने कार्यक्रम पनि बुद्धशान्ति २ का नेवार समुदायले आयोजना गरेका छन् ।
नागपञ्चमीको अवसरमा सुरु भएको लाखे कृष्ण जन्माष्टमीको दिनसम्म समय मिलाएर प्रदर्शन गर्ने प्रचलन छ ।
युवा पुस्तालाई आफ्नो सँस्कृतिका बारेमा अपनत्व हुने किसिमले लाखे नाचको आयोजना गरिएको आयोजक समितिका प्रज्वल प्रधानले जानकारी दिए । अहिले लाखे नाचमा युवापुस्ताले चासो देखाएको पनि उनले बताए ।
जयपुरको जगद्धिश्वर शिव पाञ्चायन मन्दिरबाट लाखे नाचको प्रदर्शनी सुरु गरिएको थियो ।