झापा- जिल्ला प्रशासन कार्यालय, झापाले आसन्न चाडपर्वहरू—शुभ विजया दशमी, नेपाल सम्बत, तिहार र छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित वातावरणमा मनाउनका लागि जिल्लाबासीहरूमा विशेष अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारीले बिहीबार जारी गरेको एक सूचनामार्फत जिल्ला सुरक्षा समिति, झापाले चाडपर्वका समयमा अपनाउनुपर्ने विभिन्न सुरक्षा तथा सामाजिक मापदण्डहरूको पूर्ण पालना गर्न सबै सरोकारवालाहरूलाई आग्रह गरेको हो।
प्रशासनका मुख्य अनुरोधहरू:
देउसी–भैलोको समयसीमा: दीपावलीको अवसरमा खेलिने देउसी, भैलो लगायतका साँस्कृतिक क्रियाकलापहरू राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न गराउनुपर्ने।
जुवाजन्य खेलमा निषेध: प्रचलित कानुनले वर्जित गरेका जुवातास, लङ्गुरवुर्जा (डाइस) लगायतका जुवाजन्य खेलहरू खेल्ने वा खेलाउने कार्य नगर्न/नगराउन।
पटका तथा अतिशबाजी नियन्त्रण: समाजमा आतङ्क सिर्जना गर्ने गरी पटका, भुइँचम्पा, अतिशबाजी लगायतका विष्फोटक पदार्थहरू पड्काउने कार्य नगर्न/नगराउन।
स्वदेशी फूलमाला प्रयोग: प्लास्टिकका फूल, मालाको सट्टामा प्राकृतिक फूल तथा मालाको प्रयोग गरी नेपाली किसानहरूलाई प्रोत्साहित गर्न।
बजार अनुगमनमा कडाइ: बजारमा म्याद गुज्रेका वस्तु बिक्री वितरण नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न र मूल्य वृद्धि नियन्त्रण गर्न।
सुरक्षित यात्रा: सवारी साधनहरूमा क्षमताभन्दा बढी यात्रु नराख्न र सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न/गराउन।
सामाजिक सञ्जालको सदुपयोग: सामाजिक सञ्जाल प्रयोग गर्दा कसैको मर्यादामा आँच आउने, घृणा वा अफवाह फैलाउने किसिमका सामग्री सम्प्रेषण नगर्न।
तत्काल सूचना दिन अनुरोध: चाडपर्वका समयमा कुनै समस्या परेमा वा अवाञ्छित क्रियाकलाप हुन लागेको वा भइरहेको जानकारी भएमा तत्काल नजिकको प्रहरी इकाई, प्रहरी कन्ट्रोल रुम १०० वा मोबाइल नं. ९८५२६७१५५५ मा सम्पर्क गर्न झापा प्रशासनले अनुरोध गरेको छ।
जिल्लावासीहरूलाई शान्ति सुरक्षा कायम गरी आपसी सद्भावका साथ चाडपर्व मनाउन सहयोग पुऱ्याउनका लागि यो अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय, झापाले जनाएको छ।