झापा– भारी वर्षा र सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै मेची राजमार्गको झापा सिमानामा पर्ने इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्मको सडकमा सवारी आवागमनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले आज सूचना जारी गर्दै मेची राजमार्गअन्तर्गत इलामको जोरकलशदेखि राँकेसम्म र मेची कोरिडोर (केचना–कञ्चनजंघा सडक) मा आज बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म सबै प्रकारका साना तथा ठूला सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो ।
प्रशासनले दिउँसोको समयमा अत्यावश्यक भई यात्रा गर्नुपर्ने सवारी साधनका लागि वैकल्पिक मार्ग तोकेको छ।
ठूला सवारी साधन (कुल वजन १० टनभन्दा बढी भएका): उनीहरूले मेची कोरिडोर (केचना–कन्चनजंघा सडक) प्रयोग गर्नुपर्नेछ।
साना सवारी साधन (कुल वजन १० टनभन्दा कम भएका): उनीहरूलाई सिमलगोलाई जोगमाई–तिल्केनी सडक प्रयोग गर्न सूचित गरिएको छ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेश लगायतका स्थानमा मनसुनी गतिविधिहरू सक्रिय भई उच्च मात्रामा वर्षा भइरहेको उल्लेख छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना समेतका आधारमा सम्भावित विपत्जन्य अवस्थाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न यो व्यवस्था गरिएको बताइएको छ। ताप्लेजुङ सडक डिभिजन कार्यालय इलामले पनि यस सम्बन्धमा यसअघि नै सवारी आवागमन बन्द गर्ने सूचना जारी गरेको थियो।