विर्तामोड । पूर्वि नेपालको काँकरभिट्टाबाट प्राय जसो नेपालका अधिकांश ठाउँका लागि गाडि छुट्छन् ।
यात्रुबाहक बस आउने र जाने क्रम निरन्तर चलिरहन्छ हेर्दा लाग्छ धेरै गाडी एकै किसिमका हुन् । बसका अगाडी राखिएका बोर्डले पनि त्यस्तै संकेत देखाउँछ ।
बसमा राखिएको ‘ननस्टप’ शब्द जसले धेरै यात्रुको ध्यान खिच्छ सोही बसमा चढेर छिट्टै गन्तव्य पुग्ने अभिलाषा क्षणभरमै हराउँछ । यात्रारत धेरै यात्रुले सोचेका हुन्छन् ‘ननस्टप’ कही कतै पनि नरोकिकन गन्तव्य सम्म पुर्याउने गाडी ।
यात्रुहरुले यसै भनेर बुझ्छन् सबैको चाहना पनि गन्तव्यमा छिटै पुगौ भन्ने हुन्छ तर त्यस्तो अगाडी बोर्डमा लेखिए जस्तो न ति गाडी ननस्टप समयमै पुग्छन् न समयमै गुड्छन् ।
एक पटक पनि नचढेका यात्रुहरुका लागि भने छिटौ पुगिन्छ भन्ने चाहनाले गाडी चढ्छन् तर एक पटक यात्रारत यात्रु भने त्यसको भुक्तभोगी भईसकेका हुन्छन् ।
सधै झै झापा बिर्तामोडमा गाडी आहोरो दोहोरो गर्दै थियो । सडकमा लामबद्ध गाडीहरु कसैको निगरानी बिनै निर्वाद रुपमा ननस्टप बोर्ड राखेर हुईकाउँथे ।
केही दिन अघि मात्रै ननस्टप लेखेर यात्रु डाकिरहेका एउटा बस निर्बाद सडकमा हुईकदै थियो ।
बिर्तामोडको बाटोमा सधै चल्ने मे १ ख २२४५ नम्बरको बस हेर्दा थोत्रो र पुरानो भए पनि यात्रु झुक्काउन सुपर डिलक्स लेखिएको थियो । विर्तामोड चोकमा चेकिंगमा बसेका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरीले उक्त बसलाई रोके ।
चालकलाई लाग्यो ट्राफिक नियम उलङ्घन भएर रोके । प्रहरीकै नजिक गाडी रोकिएपछि पाथिभरा यातायात लेखिएको बसको बोर्डबाट ननस्टप भन्ने बिचमा लेखिएको ननस्टप शब्द भएको भागलाई झापाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीले फलाम काट्ने कैंचीले धमाधम काटे ।
सधै यात्रुहरुलाई झुक्काईरहने परिपाटी बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले त्यस्तो गाडी निगरानीमा राखेर अभियान शुरु गरेको हो ।
अभियानको सुरु दिन शनिबार विहान विर्तामोडको मुक्ति चोकमा मात्र २५ वटा बसमा लेखिएको ननस्टप भन्ने शब्द ट्राफिक प्रहरीले काटे ।
उनीहरुले बसका कर्मचारीलाई पहिला चलानी देखाउन लगाए । कुनै बसहरुले भने ननस्टप लेखेको भाग हटाएरै छाडेका छ ।
खासगरी काँकरभिट्टाबाट विराटनगर र धरानसम्म जाने जुनसुकै बसमा ननस्टप लेखेर यात्रु झुक्याउने गरिएका कारण जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले यो अभियानको सुरुवात गरेको ट्राफिक प्रहरीका झापा प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।
‘विर्तामोडबाट इटहरी चार घन्टामा पनि पुर्याउँदैन ननस्टप बोर्ड राखेर यात्रुलाई झुक्काईरहेका छन्, उनले भने ‘ ‘जस्को चलानी छैन हामी बोर्ड काटेर फाल्दिन्छौं ननस्टपका नाममा यात्रु ठग्ने परिपाटीलाई हामी निरुत्साहित गरेर छाड्छौ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चलाएको यो अभियानमा करीब एकसय वटा बसहरुको बोर्ड ट्राफिक प्रहरीले काटिसकेको छ ।
शुक्रबार पूर्वबाट बस छुट्ने नाका काँकरभिट्टा बस पार्कमा पचास वटा भन्दा बढी लोकल बसहरुले ननस्टप लेखेको बोर्ड प्रहरीले काटेको थियो । कुनै बसमा भने जाँदै नजाने ठाउँको बोर्ड समेत राखिएको पाइएको प्रहरी निरीक्षक गिरीले बताए ।
‘लोकल बस इटहरीसम्म पुग्दैन दिक्तेल मेल भनेर लेखेको बोर्ड समेत पाइयो ,उनले भने ‘कुनैमा भने १०० प्रतिशत ननस्टप समेत लेखेको पाइएको छ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पहलमा जिल्लाका विभिन्न यातायात व्यवसायी संघ संगठनहरुसंगको छलफलबाट लोकल बसहरुमा ननस्टप लेखेर चलाउन नपाइने सहमति समेत भएको छ ।
यस्तै प्रहरीले गाडीमा राखिएको प्रसेर हर्न हटाउने अभियान समेत शुरु गरेकाे जनाएको छ । ठुलो हर्न बजाउँदा मानिसको श्रवण शक्तिमा ह्रास अाउनुका साथै ध्वनी प्रदुषणले वातावरण खलल पुग्ने भएकाले हर्न निकाल्ने अभियान थालिएको प्रहरी निरीक्षक गिरीले बताए ।
उनका अनुसार अाईतबार देखि सयौको संख्यामा रहेका गाडीका हर्न निकाल्ने कार्य शुरु गरिएको छ ।
प्रेसर हर्नका कारण दुर्घटनाको जोखिम पनि बढ्ने र सडक नजिकका विद्यालयमा पढ्ने बालबालीकाहरुको शिक्षामा समेत असर पुग्ने गर्दछ ।
वातावरणमा ध्वनी प्रदुषण नहुने गरी सानो हर्न मात्रै राख्न पाईने व्यवस्था भएपनि गाडीका चालकहरुले अटेर गरेर प्रेसर हर्न राख्दै अाएको पाईन्छ ।
प्रहरी निरीक्षक गिरीका अनुसार यात्रुहरु झुक्काउने परिपाटी रहे सम्म यो अभियान निरन्तर रुपमा चलिरहने छ ।