विर्तामोड । झापा विराटपोखर घर भएका प्रकाश कट्टेलले सन् २०१४ मा पनि इपिएस परीक्षा दिए । पास पनि भए । तर अहिलेसम्म जान पाएका छैनन् । बुधबार इपिएस परीक्षाको आवेदन फारम भर्न अघि ग्लोबल आइएमइ बैंकमा परीक्षा शूल्क बुझाउन बिहान ४ बजेदेखि लाइन बसेका थिए ।
उनले सन् २०१४ देखि यता करीब एक लाख रुपैयाँ सके कोरियन भाषा पढेरै । अहिले आएर त्यो पैसा अनाहकमा खेर गयो कि भन्ने पनि उनलाई लागेको छ ।
विर्तामोडको शनिश्चरे रोडमा रहेको ग्लोबल आइएमइ बैंक अगाडि सयौंको संख्यामा युवा कोरिया जान पाइने आशमा बैंकमा पैसा बुझाउन लाम लागेका थिए । विहान ४ बजेदेखिको लाइन अपरान्हसम्ममा धेरै कमले मात्र पैसा बुझाउन पाएका थिए ।
पाँचथर ओयाम ९ बाट पैसा बुझाउन विर्तामोड आएका थीरप्रसाद सापकोटा विहान ५ बजेदेखि पानीको भरमा लाइनमा बसेका थिए ।
ताप्लेजुङ फूलबारी ८ की देविका सिटौलाले गत साल ११ घन्टा लगाएर फारम भरेको बताइन् । यसपाली पनि कोरियाको सपना लिएर विर्तामोडमा कोठा लिएर कोरियन भाषा सिकेको उनले सुनाइन् ।
आगामी जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाको आवेदन बुधबारदेखि खुल्ला गरेपछि बैंकहरुमा कोरिया जानका लागि इच्छुकहरुको भीड लागेको हो । भाषा परीक्षाका लागि बुधबारदेखि आउँदो १८ गते दिउँसो १२ बजेसम्म अनलाइनबाट आवेदन फारम भर्न सकिनेछ ।
आवेदन फारम भर्नु पहिले २४ डलर ग्लोबल आइएमई बैंकमा जम्मा गरेर भौचर अनलाइनबाटै पठाउनु पर्ने व्यवस्था छ ।
भौचर नम्बर र पासपोर्ट नम्बर भरेपछि मात्रै अनलाइन फारमका लागि पेज खुल्ने बताइएको छ । आउँदो वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाने भएपछि भाषा परिक्षा सञ्चालन हुन लागेको हो ।
सन् २०१८ मा उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली कामदार कोरिया जान पाउने छन् ।