भद्रपुर । नापी कार्यालय भद्रपुर झापाले जिल्लाका सबै जग्गाका रेकर्ड डिजिटल बनाउने काम अन्तिम चरणमा पुर्याएको छ । अहिले जिल्लाका सबै नगरपालिका तथा गाउँ विकास समितिका रेकर्डहरु कम्प्युटरमा राखेर नापीका दस्तावेजलाई डिजिटल बनाउन लागिएको नापी कार्यालय भद्रपुरका प्रमुख नापी अधिकृत डिल्लीराज भण्डारीले जानकारी दिए ।
केही समयअघिसम्म अस्तव्यस्त रहने गरेको उक्त कार्यालयका नाप नक्सा हराउने र जोसुकैले जथाभावी लैजाने गरेकाले जग्गाका नाप तथा दस्तावेजलाई कम्प्युटरमा राख्न थालिएको अधिकृत भण्डारीले बताए । उनले भने, ‘यो भद्रगोल स्थितिलाई व्यवस्थित बनाउन हामी विदाको दिन शनिबार पनि खटिएका छौं । अहिलेसम्म करीब ८० प्रतिशत काम सकेका छौं । अब चाहीँ नक्सा हराउने र सेवाग्राहीले भनेको बेलामा हामी जग्गाको नक्सा निकालिदिन सक्छौं ।’
डिजिटल प्रणालीमा गइसकेपछि विचौलियाबाट पाइने झन्झट पनि नहुने कार्यालयको दाबी छ । नापी कार्यालयका अनुसार अहिलेसम्म प्रायः सबै नगरपालिका तथा गाविसका वार्ड नक्सा कम्प्युटरमा हालिसकिएको छ । प्रमुख नापी अधिकृत भण्डारीले अब केही दिनमा फायल नक्साहरुलाई कम्प्युटरमा व्यवस्थित गरिने जानकारी दिए । उक्त कार्यालयमा सेवाग्राही जाँदा पहिलाको जस्तो दुःख अब नपाइने उक्त कार्यालयका कर्मचारीले बताएका छन् ।
तर प्रत्येक दस बर्षमा नक्सा अद्यावधिक गर्नुपर्नेमा सो हुन नसकेकोले नापी कार्यालयहरुले समस्या भोग्दै आएका छन् । २०२१ सालबाट सुरु भएको जग्गाको नक्सा प्रणाली २०५२ सालमा आएर एकसरो नक्सा बनेकोमा समस्या भएको भण्डारीले बताए । उनले भने, ‘जसरी जनसंख्याको अद्यावधिक प्रत्येक दस बर्षमा हुन्छ, त्यसरी नै जग्गाको नक्सा पनि अद्यावधिक हुनुपर्ने हो । तर हुन सकेको छैन ।’
पुराना जनशक्तिका कारण पनि नापी कार्यालयहरुका काम चुस्त हुन नसकेको कर्मचारीहरु बताउँछन् । त्यहीँमाथि दरबन्दी अनुसार कर्मचारी अभावले पनि भनेको बेलामा सेवाग्राहीको काम हुन नसकेको उनीहरु बताउँछन् । तर कम्प्युटर प्रणालीमा गइसकेपछि धेरै जनाको काम एकजना व्यक्तिले गर्नसक्ने भएकाले सेवाग्राहीको काम सहज हुने विश्वास नापी कार्यालयका कर्मचारी गरेका छन् ।
अडियो वडापत्र
नापी कार्यालय भद्रपुरले नागरिक वडापत्रका सामाग्री अब अडियो मार्फत सेवाग्राहीलाई सुनाउने भएको छ । त्यस्का लागि उक्त कार्यालयले प्रविधि निर्माणको कामलाई अगाडि बढाएको बताएको छ । नापी कार्यालयमा आउने सेवाग्राही समयमा नआउने तर काम भने तत्काल गर्न लगाउन दबाब दिने जस्ता कार्यलाई निरुत्साहित गर्नलाई पनि सबैका लागि हुनेगरि अडियो बडापत्रको निर्माणमा कार्यालय लागेको कार्यालय प्रमुख डिल्लीराज भण्डारीले बताए ।
उक्त बडापत्र खासगरी नेत्रहीनहरुका लागि उपयोगी हुने कार्यालय प्रमुख भण्डारीको बुझाई छ । उनले भने, ‘पढनसक्नेहरुका लागि त बडापत्रमा लेखिएको सामाग्रीले हुन्छ । तर पढन नसक्ने र आँखाले देख्न नसक्नेहरुका लागि अडियो बडापत्र अहिलेका लागि एउटा विकल्प हो ।’ तर नयाँ कार्यालय भवनमा उक्त कार्यालय स्थानान्तरण भएपछि अडियो भिडियो प्रणालीको बडापत्र लगाउने कार्यालयको योजना रहेको उनले बताए ।