खबरमञ्च, विर्तामोडः आगलागीका घटना दिनहुँ भइरहँदा पनि सरकारले नगरपालिकाहरुमा दमकलको व्यवस्था गर्न सकेको छैन । जस्का कारण आगलागीका घटना नियन्त्रण गर्न निकै चुनौतीपूर्ण रहेको गृह मन्त्रालयले जनाएको छ । तर आगो नियन्त्रणका लागि सशस्त्र प्रहरीको छुट्टै टोली बनाउने र तीन चारवटा दमकललाई एकीकृत गर्ने प्रयास भइरहेको सरकारी अधिकारीहरुको दाबी छ ।
देशभरमा नयाँ पुराना गरी २ सय १७ नगरपालिका छन् । तर दमकल भएका नगरपालिकाको संख्या भने ७१ मात्र छ । कतिपय दमकल काम गर्नसक्ने अवस्थामा नरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्वीकारोक्ति छ । मन्त्रालयका नगरपालिका महाशाखाका सहसचिव गोपीकृष्ण खनालका अनुसार केही नगरपालिकाहरुले किन्ने तरखर गर्दैछन् ।
नगरपालिकाहरुको न्यूनतम आवश्यक्ता आगो निभाउने प्रविधि जडित दमकलको भरपर्दो व्यवस्था हुन नसक्दा आगलागीका घटनाहरुको सामना गर्न निकै चुनौतीपूर्ण रहेको गृह मन्त्रालयको भनाई छ । मन्त्रालयका प्रवक्ता यादव कोइरालाका अनुसार आगलागीका घटना नियन्त्रण गर्न छिट्टै सशस्त्र प्रहरीको विशेष टोली बनाइनेछ ।
हावाहुरी तथा आगलागीको अहिलेको अवस्थामा दिनहुँ आगलागीका घटनाका समाचारहरु आउने गरेका छन् । खासगरी तराईका क्षेत्रमा फुसको छानो भएका घरहरुमा आगो सल्केपछि धेरैको घरबार गुम्ने भएका कारण संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तीनचार वटा नगरपालिकाका दमकललाई एकीकृत गर्ने गृहकार्य थालेको मन्त्रालयका नगरपालिका महाशाखाका सहसचिव खनालले बताए ।
गृह मन्त्रालयका प्रवक्ता कोइरालाका अनुसार सर्वसाधारण आफैं पनि सजग हुन आवश्यक छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव खनालका अनुसार दमकलमा कामगर्ने प्राय कर्मचारी धेरै उमेर खाएका हुनाले पनि भएका दमकलको काम प्रभावकारी हुनसकेको छैन ।