चारआली । उनको दैनिकी सुन्दा कुनै पुरुषको भन्दा कम छैन । उनको काम विहान छोरा छोरीलाई तयार पारेर विद्यालय पठाउनु, अनि चारआली झापामा आफ्नै घरमा रहेको मोटरसाइकल ग्यारेजमा मोटरसाइकल बनाउनु हो । करीब १२ बर्षदेखि उनी मोटरसाइकलका हरेक काम गर्छिन् । सामान्यदेखि इन्जिन मर्मतसम्म । उनी हुन् हिम्मतिली निरु परियार ।
अन्य काम बाहेक प्रायः उनी आफ्नै ग्यारेजमा मोटरसाइकल मर्मतको काममा व्यस्त भटिन्छिन् । प्रायः महिलाहरुको आकर्षण बन्न नसकेको मोटरसाइकल मर्मत गर्ने काममा उनी मज्जाले रमाएकी छिन् ।
परियार भन्छिन्, ‘पुरुषले गर्न नसक्ने काम महिलाले बच्चा जन्माउन सक्छन् भने यो काम गर्न सकिँदैन भन्ने कहीँ छैन ।’ उनको ग्यारेजमा आउने जो कोही ग्राहक पनि छक्क पर्ने गरेको अनुभव उनीसंग छ ।
प्रायः ग्राहकले आफूले मोटरसाइकल बनाउन सक्ने भन्ने कुरा नपत्याउने गरेको उनी सुनाउँछिन् । परियारले भनिन्, ‘पहिला त पत्याउँदैनन् तर पछि बनाइदिएपछि छक्क पर्छन् ।’
उनको जीवन सोही पेशाका कारण राम्ररी चलेको उनी बताउँछिन् । आफ्ना छोरा छोरी राम्ररी पढाइरहेको उनले बताइन् । तर उनी मेहेनतले पैसा कमाउन अन्य महिलाहरुलाई सल्लाह दिन्छिन् । परियार भन्छिन्, ‘लगनशील भएर काम गर्नुहोस् जे काम गर्न पनि सकिन्छ । पैसा कमाउनुहोस् तर इज्जतको ।’