विर्तामोड । अहिलका चर्चित अभिनेता दयाहाङ राई आगामी मंगलबार (कात्तिक ९) गते झापाको दमकमा आउँदैछन् ।
दमक–१० मा रहेको होटल एसजीमा हुने ‘अभिनेता दयाहाङ राईसँग अन्तरंग कार्यक्रम’ मा झापाली दर्शकसँग भेटघाट गर्न उनी यहाँ आउने भएका हुन् ।
शब्द घर नेपाल र युथ फर ब्लड दमकको संयुक्त आयोजनामा हुने कार्यक्रममा झापाली दर्शक एवम् शुभेच्छुकहरुले राईसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् ।
कवि एवम् आयोजक संस्था शब्द घर नेपालका विराट किराँतीले चलचित्र उद्योगसंगको समसामयिक विषयवस्तु र कलाकारितामा दयाहाङ राईको विगत र वर्तमानको बारेमा चर्चा हुने बताए ।
कार्यक्रम ११ बजेदेखि हुने बताइएको छ ।
यसैबीच, सोही दिन ‘सागीतिक साँझ कार्यक्रम’ समेत गरिने भएको छ ।
‘होटल एस जी’ मुख्य आयोजना र ‘शब्द घर नेपाल’ को व्यवस्थापन सहकार्यमा हुने ‘तिहार सागीतिक साँझ’ कार्यक्रममा नेपाल र भारतका युवा गायकहरुको प्रस्तुति रहने बताइएको छ ।
कला, साहित्य र संगीतले भुगोल, समाज र संस्कृतिको माध्यमले सम्बन्धलाई आत्मियताका साथ जोड्ने कार्य गर्ने भएकोले कार्यक्रम आयोजना गरिएको आयोजकले जनायो ।
मंगलबार साँझ साढे ६ बजेबाट कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा भारतीय शहर कालेङ्पोङमा रहेर अनवरत गीत–संगीतको कर्ममा सक्रिय युवा गायक देवाशीस मोते र नेपालको भोजपुरमा जन्मिएर काठमाण्डौमा गीत–संगीतमा सक्रिय श्याम सामसोङ् राईको विशेष प्रस्तुति रहनेछ ।