काठमाडौँ– गीतकार, गायक एवं सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको नेपाल क्यान्सर अस्पतालमा उपचाररत रसिकको आइतबार निधन भएको हो।
उनको शव हाल त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा राखिएको छ। संगीतकार वसन्त मुकारुङका अनुसार, रसिककी छोरी बेलायतबाट भोलि (सोमबार) नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने भएको छ।
रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए। भोजपुरको छिनामखुमा २००४ सालमा थुलुङ राई परिवारमा जन्मिएका रसिक पछिल्लो समय इलामको सूर्योदय नगरपालिका, फिक्कलमा बस्दै आएका थिए।
रसिकका ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ जस्ता गीतहरू निकै चर्चित छन्।
उनका ‘दशगजामा उभिएर हेर्दा’, ‘क्षितिजलाई छुन खोज्दा’ ‘एउटा सारंगी छुन खोज्दा’ ‘रसिकका गीतहरु’ ‘आकाशगंगाको ओतमुनि’ ‘जब सिस्नुहरु टेक्दै हिँडेँ’ ‘बिलाउँदै गएका गीत’ लगायतका साहित्यिक कृतिहरू प्रकाशित छन्।
रसिकले विभिन्न महत्त्वपूर्ण सार्वजनिक संस्थामा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनी रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवसमेत भएका थिए।
नेपाली लोक शैलीका गीत तथा राष्ट्रिय गीतहरूमा रसिकले आफ्नो स्वर र संगीत दिएका छन्, साथै कतिपय गीत उनले रचना पनि गरेका छन्। उनकी श्रीमती निरा शेरचनको तीन वर्षअघि निधन भएको थियो।