काठमाडौँ- ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचित छन् । मह जोडीका रुपमा उनीहरूको सहकार्यले आज वैशाख १४ गते ४५ वर्ष पूरा भएको छ । करिब आधा शताब्दीसम्म निरन्तर रुपमा जोडी बनेर दर्शकको मन जित्नसक्नु र आफ्ना लागि एउटा सम्मानित पहिचान स्थापित गर्नसक्नु नै उनीहरू दुईको इमान्दारिताको उदाहरण हो ।
यो ४५ वर्षको सहकार्यमा मह जोडी बनेर काम गर्दा दुवै कलाकारले नामसँगै दाम पनि कमाए । तर, जति लाभ हुन्छ, त्यति नै लोभ बढ्ने सम्भावना पनि हुन्छ । यसको प्रभाव पनि यो जोडीले हावी हुन् दिएनन् । फलतः सहकार्यको झण्डै आधा शताब्दी कलासाधनामा समर्पित भई दर्शकसहित आमनेपालीको मन जित्न मह जोडी सफल भएको देखिन्छ ।
यसै सन्दर्भमा अभिनेता आचार्यले आफूलाई भाग्यमानी पुस्ताका रुपमा बुझेका छन् । किनकी कलाकारिताको दौरानमा उनीहरुले प्रविधिगत र राजनीतिक धेरै परिवर्तनलाई नजिकबाट बुझ्न पाए। “हामीले रङ्गमञ्चमा प्रहना गर्यौं, क्यासेट बनायौँ, टेलिभिजनका लागि शृङ्खला बनायौँ, चलचित्रमा पनि काम गरायौँ, त्यसकारण पनि म र मदन दाई भाग्यमानी पुस्ता बन्न पुग्यौँ । हामीले सबै माध्यममार्फत् आफ्नो कामलाई देखाउने मौका पायौँ । अहिले पनि हामीले पुराना कामलाई अत्याधुनिक प्रविधिमा रुपान्तरण गरेर ‘डिजिटल’ रुपमा उपलब्ध गराएका छौँ”, अभिनेता आचार्यले भने ।
उनले मह जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया रहेको बताए । “दर्शकले हामीलाई एकसाथ हेर्ने इच्छा नराख्नु भएको भएँ हामीले यत्रो यात्रा पार गर्न सम्भव थिएन । अनि हामीलाई परिवारले सँधै सहयोग गरेर अगाडि बढ्न मद्दत गर्यो । हाम्रो सम्बन्धमा उनीहरू हावी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवै नाम दियो, एउटा स्थान बनायो । एकअर्कासँग कहले आरिस (इगो) राखेनौँ, सधैँ दर्शकको भावनाअनुरुप प्रस्तुत भइरह्यौँ”, अभिनेता आचार्यले भने ।
यसैगरी अभिनेता श्रेष्ठले मिलेर काम गरेमा त्यसले सफलता दिने बताए। उमेरका हिसाबले ७५ वर्ष पुगेका अभिनेता श्रेष्ठले चलचित्रसहित विज्ञापनमा अझै सक्रिय भई काम गरिरहेका छन् । उनले कामका सिलसिलामा कहिले त्यसको लाभ–हानि हाबी हुन् नदिएको बताए।
उनले भने, “हामी कहिले पैसाको पछाडि लागेनौँ, काममै केन्द्रित भयौँ । त्यसले हामीलाई नाम र दाम दुवै दियो । फेरि दुवैको नाम र काअम एउटै छ, त्यसकारण पनि हामीले सोच्नुपर्ने केही थिएन । हामीमा इमान्दारिता छ, सद्भाव छ, सदैव एकअर्काको राम्रो भएको हेर्न र सुन्न चाहन्छौँ, त्यसैले यति लामो समयसम्म मह जोडीका रुपमा यात्रा तय गर्न सकेका हौँ ।”
उनले स्वास्थ्यले साथ दिएसम्म आफूहरू एकसाथ काम गरिरहने बताए । पछिल्लो समय दुवै जनाले एकसाथ चलचित्र ‘महापुरुष’ मा काम गरेका थिए । त्यसपछि अभिनेता आचार्यले ‘महाजात्रा’, ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ मा अभिनय गरिसकेका छन् । यस्तै अभिनेता श्रेष्ठले पनि ‘पहाड’ र ‘परान’ नामक चलचित्रमा काम गरेका छन् । छुट्टिएर चलचित्रको छायाङ्कन गर्दा होस् वा भोजमा, जहाँ जाँदा पनि एकलाई देखेपछि अर्कालाई खोज्नु स्वाभाविक छ । “मलाई हरिजी खोइ भनेर सोध्नु भयो भने यही त छन् नी, म भित्रै छन् भनेर भन्ने गरेको छु । कार्यक्रममा मात्र होइन चलचित्रको छायाङ्कनमा पनि सोधिरहनु हुन्छ”, अभिनेता श्रेष्ठले भने ।