झापा- सामान्यतया बालबालिकाहरूले कखरा सिक्नुअघि तोते बोली बोल्न सिक्छन्। तर, झापा बुद्धशान्ति २ की कृष्टी फुयाँलको कथा अलि फरक र निकै रोचक छ।
उनले स्पष्टसँग बोल्न नपाउँदै र हातमा कलम राखेर अक्षर कोर्न नजान्दै आफ्नो हातमा कुची र रङ्ग समातिन्। मानौं, उनले चित्र कोर्ने यो ईश्वरीय वरदान गर्भबाटै उपहारस्वरूप लिएर धर्तीमा पाइला टेकेकी हुन्।
बुद्धशान्ति गाउँपालिका वडा नं २ निवासी खगेन्द्र र मनिषा फुयाँलकी एकमात्र सन्तान हुन्– ११ वर्षीया कृष्टी। हाल जयपुर बोर्डिङ स्कुलको कक्षा ५ मा अध्ययनरत उनको क्यानभासमा पोखिने चित्रहरू देख्दा जो-कोही अचम्ममा पर्छन्।

साना हातहरूले कोरेका ती परिपक्व चित्रहरूले उनको उमेरलाई गिज्याइरहेको भान हुन्छ।
कृष्टीको यो जादुमयी कला घरको भित्तादेखि विद्यालयको कक्षाकोठासम्म फैलिएको छ। उनका अभिभावकले घरका भित्ताहरूमा उनकै सिर्जनाले सजाएका छन्।
चित्रकलाप्रति उनको मोह यति गहिरो छ कि उनी प्रायः मध्यरातसम्म पनि रङ्ग र रेखासँगै हराइरहेकी भेटिन्छिन्। उनको यो लगाव देखेर विद्यालयले पनि कुनै पनि चित्राङ्कनको काम पर्दा पहिलो प्राथमिकतामा कृष्टीलाई नै राख्ने गरेको छ।

अक्सर ‘प्रतिभाशाली बालबालिका पढाइमा कमजोर हुन्छन्’ भन्ने आम धारणालाई कृष्टीले गलत सावित गरिदिएकी छन्।
उनी जति उत्कृष्ट चित्र कोर्छिन्, विद्यालयको नतिजामा पनि उत्तिकै अब्बल छिन्। हालसम्मका सबै परीक्षाहरूमा ‘विशिष्ट श्रेणी’ हासिल गरेर उनले आफ्नो पढाइ र कलालाई सँगसँगै अगाडि बढाएकी छन्।
छोरीको यो दोहोरो सफलताबाट आमा मनिषा दंग छिन्। “छोरीको चित्रकला र पढाइले हामीलाई ठुलो सन्तुष्टि दिएको छ,” मनिषा गौरवका साथ भन्छिन्।
सानै उमेरमा दुनियाँलाई छक्क पार्ने कृष्टीको यो यात्राले भोलिका दिनमा नेपाली कला क्षेत्रमा नयाँ उचाइ लिने कुरामा दुई मत छैन।

