हेरिवर्ग (अमेरिका) । जब गायक प्रमोद खरेलले ‘माया… हे माया… के भयो तिमीलाई’ बोलको गीत गाउन थाले तब हेरिसवर्गका नेपाली अक्टुवर ८ तारिकको साँझ भावुक बने । तर, केही वेरमै उनीहरुको मुहार फेरिदिए खरेलले । ‘म विना कसै कसैलाई मुस्किल छ पोखरामा…’ बोल गीत उनले गाउन सुरु गरेपछि दर्शकले ताली मात्र बजाएनन्, नाँचेर समेत साथ दिए । दर्शकदीर्घबाट आएको हुटिङले कार्यक्रम स्थल सस्कीहाना टाउनसिप स्कूल गुञ्जयमान भयो ।
यति मात्र होइन, नायक दिलिप रायमाझीको प्रस्तुति सुरु भएपछि दर्शकलाई नियन्त्रण गर्न नै हम्मेहम्मे भयो । उनले विभिन्न गीतमा नृत्य प्रस्तुत गरे । त्यस्तै, नेपालबाट आएका अर्का अतिथि कलाकार कालीप्रसाद बाँस्कोटासँग पनि दर्शक झुमे । ’रेशम फिलिली’को ’जालमा’ गीत गाएर चर्चामा आएका संगीतकार बास्कोटासँग अमेरिकाका नेपाली रमे । उनलाई व्यापक हुटिङले साथ दिए ।
हेरिसवर्ग युथको आयोजनामा भएको दशैं तिहार मेला २०७३ मा देखिएका दृश्यहरु हुन् यी । कार्यक्रमलाई ओएचआरसी नामक संस्थाले सपोर्ट गरेको थियो । अमेरिकामा रहे पनि नेपाली कला र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्थाका खगेन घिमिरेले जानकारी दिए ।
कार्यक्रममा प्रवेश गर्न अग्रिम टिकट दर १० डलर तोकिएको थियो भने हलमा टिकट खरिद दर १५ डलर राखिएको थियो । केही ढिलो गरी सुरु भएको कार्यक्रम प्रस्तुतिहरुका कारण सफल भए पनि प्राविधिक व्यवस्थापन भने फितलो रहेको केही सहभागीको गुनासो थियो ।