झापा । वर्ष भरिको थकानलाई भुल्दै उल्लास पूर्वक मनाइने चाड हो दसैं । सरकारी कार्यालय, निजी संघसंस्था, कलकारखाना लगायतले साताअघि देखि नै विदा दिन्छन् । कामको सिलसिलामा टाढाटाढा पुगेका मानिसहरु घर फर्कन्छन् । वैदेशिक रोजगारीका क्रममा समुन्द्रपारि पुगेका नेपाली दाजुभाई पनि घर आउँछन् । खुशी, माया, प्रेम र सद्भाव भित्र्याउँछन् । परिवारिक पुनर्मिलन हुन्छ । आफन्तजनको भेटघाट पनि । त्यसैेले भनिन्छ, दशैं पारिवारिक सद्भाव, मेलमिलाप र आपसी सौहार्दताको पर्व पनि हो ।
समाजका हरेक तह, तप्का र क्षेत्रका मानिसलाई दसैंले छोपिसक्यो । टीका, जमरा र आशीर्वाद थाप्न जाने तयारीमा छन् सबै । आफन्तजनको घरमा जाँदा लगाउने नयाँ लुगाको पनि जोहो भइसक्यो । दक्षिणाका लागि नयाँ नोट पनि तयारी अवस्थामा छ । तर, समाजका सबै व्यक्तिहरु दसैंको उल्लासमा रमाइरहेका वेला यही समाजका केही वर्गलाई दसैं आउँदैन । आउँछ त, केबल आँसु बोकेर । तितो सम्झना बोकेर ।
हाम्रो समाजका यस्ता थुप्रै वर्ग छन्, जसले दसैं, तिहार जस्ता महान् पर्वहरु मनाउन पाउँदैनन् । उनीहरु आफ्नो व्यक्तिगत स्वार्थ तथा इच्छालाई तिलाञ्जली दिएर सामुहिक हितमा तल्लिन रहन्छन् । उनीहरु चाडपर्वमा विना स्वास्र्थ सुरक्षामा खटिन्छन्, र त हामीले अमनचयनले पर्व मनाउन पाएका छौं । हिँडडुल गर्न पाएका छौं । खुसी साट्न पाएका छौं ।
प्रहरी
जो हाम्रो समाजको एउटा वर्ग हो, उनीहरुलाई कहिल्यै दसैं, तिहार जस्ता पर्व आउँदैन । यदी उनीहरु दसैं, तिहार भनेर विदामा बसे भने समाजका लागि पर्व खल्लो बन्न सक्छ । किनकि उनीहरुको अभावमा समाजमा शान्ति र सुरक्षा कायम हुन सक्दैन ।
अहिले झापा जिल्लामा कार्यरत डिएसपी हरिप्रसाद शर्माले परिवारसँगै बसेर दसैं, तिहार नमनाएको चार वर्ष भयो । ‘अरुले टिका, जमरा लाएर हिँडेको देख्दा नरमाइलो त लाग्छ’, झापाका प्रहरी प्रवक्ता समेत रहेका शर्माले भने, ‘तर, बानी परिसकियो ।’ परिवारका सदस्यले चाहिँ आफूसँग बसेर दुःख सुख साट्न नपाउँदा खल्लो मान्ने गरेको उनी सुनाउँछन् ।
आम जनतालाई शान्ति दिँदा नै आफूलाई खुशी मिल्ने उनी बताउँछन् । भन्छन्, ‘हामी यसरी दशैं, तिहार नभनी शान्ति सुरक्षा कायम गर्न खटिएका छौं र त तपाईंहरुले शान्तिपूर्वक पर्व मनाउन पाउनु भएको छ नि !’ उनले प्रहरी सेवामा प्रवेश गरेको १८ वर्ष भयो । अब त शर्मालाई दसैं, तिहारमा घर जानु पर्छ भन्ने कुराको खासै वास्तै हुँदैन । बानी परिसके अब । दसैंमा मानिसहरुको व्यापक भिडभाड हुन्छ । र, सुरक्षा सम्वेदशिलतालाई ख्याल गरेर झन् धेरै प्रहरी परिचालन गर्नु पर्छ । उनी सन्तोष मान्दै भन्छन्, ‘हामी जता ड्यूटीमा खटिन्छौं, त्यही नै हाम्रो दसैं हुन्छ । त्यही हुन्छन् परिवार ।’ आम नागरिकले हाँसो, खुसीका साथ दसैं, तिहार जस्ता चाडपर्व मनाउन पाए आफूलाई त्यसैमा सन्तुष्टि प्राप्त हुने उनी बताउँछन् ।
‘जनताको सेवाले पीडा भुलाउँछ’
ट्राफिक प्रहरी पनि चाडपर्वको वेला सामान्य अवस्थामा भन्दा बढी काममा खटिन्छन् । घर नजिकै हुनेहरु भने आलोपालो गरेर दसैं मनाउँछन् । तर, टाढा घर हुने भने दसैं मनाउन पाउँदैनन् । प्रहरीलाई दसैंको समयमा विदा दिइँदैन । दशगात्र कर्म र प्रसुतिको अवस्थामा बाहेक विदा हुँदैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक डुण्डिराज गिरी भन्छन्, ‘हामीलाई जनतालाई सुरक्षा दिँदै आनन्द मिल्छ, त्यसैमा खुशी हुन्छौं ।’ चाडपर्वलाई लक्षित गरेर सामान्य अवस्थामा भन्दा कडाई गरिएको उनले सुनाए । थप्छन्, ‘चाडपर्व भनेर कडाइ गरिएको होइन, सधैँ कडा नै हुन्छ । अहिले मानिसहरुको चाप अझ बढी हुने भएकाले थप कडाइ गरिएको हो ।’ उनी पनि यसपालि दसैं मनाउन घर जान पाएनन् । विर्तामोडमा छन् । दसैंभरि जनताको सुरक्षामा खटिन्छन् ।
प्रहरी जवानको पीडा
जनताको सुरक्षाका लागि खटिने प्रहरी जवानहरुको पीडा पनि कम छैन । मानिसहरु टिका र जमरा लाएर हिँडडुल गर्दा उनीहरुको मन कटक्क खान्छ । एक प्रहरी जवान भन्छन्, ‘के गर्नु जागिर नै यस्तै रहेछ, दसैंमा घर जान नपाएको धेरै भयो ।’ उनले थपे, ‘घरमा आमाबुबा छोरा आउला कि भनेर आश गर्नु हुन्छ । तर, विदा मिल्दैन ।’ आफ्नो पीडा उनले मलिन अनुहार बनाउँदै पोखे । र, फेरि सन्तुष्ट हुन खोज्दै भने, ‘जनतालाई सुरक्षा दिनुमा नै खुशी मिल्छ, अरु त भन्नु र सर..!’
अन्य, जसको पनि पीडामै वित्छ पर्व
दशैं, तिहार जस्ता चाड पर्वमा डाक्टरको पनि विदा हुँदैन । उनीहरु पनि सर्वसाधारणको सुरक्षामा खटिनु पर्छ । विशेषतः आकस्मिक सेवामा क्रियाशील डाक्टरहरु अरुको खुशीमै रमाउँछन् । त्यस्तै, विद्युत् प्राधिकरणका कर्मचारीको पनि विदा हुँदैन । उनीहरु चाडपर्व नभनी सेवामा तल्लीन रहन्छन् । २४ सै घण्टा उपभोक्तालाई सेवा प्रवाह गर्न तल्लीन रहने विद्युत् प्राधिकरणका कर्मचारीको मन प्रत्येक पर्वमा कुडिन्छ । दमकलका कर्मचारीहरुको दसैं पनि उस्तै गरी वित्छ । घर नजिकै हुनेहरु आलोपालो गरेर दसैं मनाउन जान्छन् । तर, उनीहरुलाई जति वेलै पीडा हुन्छ ।
काहिँ आगलागी भइ हाल्यो कि भन्ने पीडाले सताउँछ । जनताको सेवामा कमी भयो कि भन्ने कुराले दुःख दिन्छ । उनीहरु २४ सै घण्टा आफ्नो ड्यूटीमा खटिरहन्छन् ।
हाम्रो समाजका यी वर्ग आफ्नो व्यक्तिगत खुशीलाई निमोठेर नियमित जिम्मेवारीमा खटिन्छन् । उनीहरुको यो इमान्दारिता र कामप्रतिको लगावको जति नै प्रशंसा गरे पनि कम नै हुन्छ । समाजका यी रक्षकहरु प्रति हार्दिक नमन ।