काठमाडौं । नेपालका प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो भएका छन् । जी टीभीबाट प्रसारण हुने कार्यक्रमको फाइनलमा आचार्य तेस्राे अर्थात सेकेण्ड रनर अप भएका हुन् ।
यस्तै प्रितमसंगै फाइनलमा पुगेका अर्का नेपाली बालक आयुष केसी चौथो भएका छन् । कार्यक्रमकाे फाइनलमा ६ जना प्रतिस्पर्धी पुगेका थिए ।
फाइनल कार्यक्रम प्रशारण भए पनि केहीदिन अघिनै रेकर्ड भइसकेकाे थियाे । खबरमञ्चसंग कुरा गर्दै प्रितमकी आमा राधिका आचार्यले भनिन्,”यति ठूलाे कार्यक्रममा भाग लिनु नै ठूलाे हाेे । उपाधि नजिते पनि छाेराले सबैकाे मन जित्याे । त्यसैमा खुशी छाैं ।”
हाल उनीहरुक पश्चिम बंगालकाे सिलिगुरीमा छन् । उनीहरु साेमबार बिहान काँकडभिट्टा आइपुग्नेछन् ।
सारेगमपकाे उपाधि भने मुम्बइकी १४ वर्षीय सगन्धा दातेले जितेकी छन् । यस्तै माेहम्मद फैज फस्ट रनर अप भए ।
बालबालिकाबचको भारतीय गायन रियालिटी शो सारेगमप लिटल च्याम्प जी टिभीमा हरेक शनिबार र आइतबार बेलुका प्रशारण हुँदै आएको थियाे । गत आइतबार राति भएको सेमिफाइनलमा ९ प्रतिस्पर्धीमध्ये तीनजना एलिमिनेशनमा परेका थिए भने नेपालका आयुष र प्रितमले अन्तिम ६ अर्थात फाइनमा स्थान बनाएका थिए । उनीहरुसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दातेले फाइनलमा पुगेका थिए ।
यो प्रतिस्पर्धामा १६ वर्ष भन्दा कम उमेरका बालबालिकाको सहभागिता रहन्छ । यो वर्ष नेपालका ८ प्रतिस्पर्धी सहभागी थिए । १२ वर्षका आयुष र ११ वर्षका प्रितम कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएर टप ३० मा परेका थिए ।