काठमाण्डौ । विदेशी फिल्मको कथा वा सिन हुबहु चोरेर पनि आफूले मौखिक फिल्म बनाएको र कतैबाट प्रभावित नभएको गर्वका साथ छाती फुलाएर बताउन नेपाली फिल्मकर्मीलाई रत्ति सरम लाग्दैन । वर्षौदेखि नेपाली फिल्ममाथि कहिले कथा त कहिले सिन चोरीको आरोप लाग्दै आएको छ । कहिले काहिँ त पोस्टर समेत चोरिएको आरोप लाग्छ । विभिन्न कालखण्डमा निर्माण भएका थुप्रै नेपाली फिल्महरु विदेशी फिल्मको फोटोकपी रहेको इतिहास बोल्छ ।
नेपालीमाझ इन्टरनेटको पहुँच खासै नहुँदा नेपालमा थुप्रै फोटोकपी फिल्म बने । धेरैजसो सुपरहिट भए । किनकि, त्यसबेला विदेशी फिल्मबाट चोरिएको हो वा होइन पत्ता लगाउन मुश्किल हुन्थ्यो । तर, अहिले विश्व इन्टरनेटको पहुँचमा छ । विश्वमा बन्ने फिल्म घरमा बसेर सित्तैमा हेर्न पाइन्छ । नेपालको ३ करोड जनसंख्यामध्ये आधा अहिले इन्टरनेटको पहुँचमा छ । फिल्मप्रेमी दर्शकले विदेशी फिल्म हेर्न कुनै छुटाएका छैनन् । सबै भाषाका फिल्म हेरेका छन् ।
इन्टरनेटको पहुँच नहुँदा फोटोकपी फिल्म बनाएर दर्शक मुर्गा बनाउन सजिलो थियो । तर, अहिले दर्शक झुक्याउन असम्भव छ । यसैले होला आजकाल नेपालमा फोटोकपी फिल्म बन्ने क्रममा निकै कमी आएको छ । तर, पूर्णरुपमा रोकिएको भने छैन । बेलाबखतमा विदेशी फिल्मको नेपाली अनुवाद रिलिज भइरहेका छन् । तात्तातो उदाहरण हो ‘लभ स्टेशन’ । यो फिल्म एक टर्किस फिल्मको फोटोकपी हो । यो फिल्म त एउटा नसेलाएको उदाहरण हो । विदेशी फिल्मको नेपाली अनुवाद धेरै बनेका छन् ।
गत वर्षकै कुरा गर्ने हो भने एउटै तमिल फिल्म हुबहु उतारेर दुई नेपाली फिल्म बने ‘कोहलपुर एक्सप्रेस’ र ‘झमक बहादुर’ । दुबै तमिल फिल्म ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी थिए । दर्शकलाई मुर्गा बनाउन सकिन्छ भनेर दुबै फिल्मका निर्माताले ढाकछोप गर्ने हरेक प्रयास गरे । तर, फिल्म रिलिज भएपछि दर्शकले उल्टै मुर्गा बनाइदिए । हलसम्म पुग्ने जाँगर नै चलाइदिएनन् । दुबै फिल्म बक्सअफिसमा असफल भए । निर्माताको करोडौं डुब्यो ।
दुई फिल्ममध्ये ‘कोहलपुर एक्सप्रेस’ की निर्मात्री तथा अभिनेत्री हुन्, केकी अधिकारी । उनीजस्ती गिनेचुनेकी अभिनेत्रीले नै फोटोकपी फिल्म बनाएको भन्दै चौतर्फी आलोचना भयो । तर, उनले ‘मुम्बई एक्सप्रेस’ बाट प्रभावित भएर बनेको भएता पनि फोटोकपी नभएको रटान लगाउन छाडिनन् । फिल्म हिट भएको भन्दै केक समेत काटिन् । तर, यथार्थ यहाँ लुक्न सक्थ्यो र । अन्ततः उनले एक कार्यक्रममा आफ्नो फिल्म फ्लप क्लबमा इन्ट्री भएको स्वीकार गरिन् ।
तर, उनले फिल्म फोटोकपी रहेको स्वीकार गरेकी थिइनन् । सोमवार फिल्म ‘६ माया छपक्कै’ को घोषणा सभामा केकीले आफूले निर्माण गरेको पहिलो फिल्म फोटोकपी रहेको धक नमानि बताइन् । नेपालका फिल्मकर्मीले चोरेकोलाई चोरेको स्वीकार गर्न नसकिरहेको अवस्थामा उनको यो साहसलाई धेरैले प्रशंसा गरे । दोस्रो फिल्म निर्माणको तयारीमा रहेकी केकी भन्छिन्, ‘पहिलो फिल्म कपी बन्न पुग्यो । दोस्रो फिल्ममा यो नदोहोरियोस् भन्नेमा सजग छु ।’
ढिलै भए पनि केकीले आफूले कपी फिल्म बनाएको स्वीकार गरेकी छन् । उनले अब यो गल्ती नदोहोर्याउने वाचा समेत गरेकी छन् । उनीजस्तै अरु फिल्मकर्मीले पनि फ्लपलाई फ्लप र चोरेकोलाई चोरेको भन्ने हिम्मत जुटाउन सके कति राम्रो हुने थियो । तर, विडम्बना ! विदेशी फिल्म हुबहु उतारेर पनि फोटोकपी बताउन नेपाली फिल्ममेकरलाई दाँतबाट पसिना आउँछ । फोटोकपी फिल्म बनाएको स्वीकार गर्नु भनेको ठूलो सजाय ठान्दछन् ।
Facebook Comments Box