मानिसहरु उनका वरिपरि थपिने क्रम चलिरहेको थियो । त्यो देखेर के कारण रहेछ भन्ने बुझ्न मन लाग्यो । त्यहाँ गएँ ।
कारण रहेछ– उनले नेपालका राजनीतिज्ञ, कलाकार, गायक, लगायतका क्षेत्रका दजनौं व्यक्तिहहरुको स्वर निकाली रहेका रैछन् । ८० जना भन्दा बढि व्यक्तिहरुको नक्कल गर्छन् उनी । यसरी अरुको नक्कल गर्न खप्पिस व्यक्ति थिए– आशिष कमेडी ।
इलाम जिल्लाको गोर्खे–४ स्थित सानो बाङ्गिनमा घर भएका १९ वर्षीय उनी अहिले विर्तामोडमा बस्छन् । उनले रेडियो फिक्कल, इलाममा ६ महिना र रेडियो सनराइज, विर्तामोड १ वर्ष मनोरञ्जनात्मक कार्यक्रम समेत चलाइसकेका छन् ।
उनले त्यहाँ नेपाली तथा विदेशी थुप्रै राजीतिज्ञहरुको नक्कल गरे । रोचक त यो छ की, उनी कसैको नक्कल गर्दा पनि झुक्किएनन् । उनले प्रधानमन्त्री प्रचण्ड, स्व। शुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, बाबुराम भट्टराई, रामशरण महत, कृष्णप्रसाद सिटौला, झलनाथ खनाल लगायतका नेपाली राजनीतिज्ञहरुको कुराकानी नै उनले सुनाए ।
हाँस्यकलाकारहरुमा उनी धुर्मुस, खड्का जी, मुस्कान पासा, माग्ने बुढा, तक्मे बुढा, बल्छी धु्रवे, बटारे कान्छो, स्याल बुढा, पाँडे, धतुरे, हरिबहादुर, मदनबहादुर लगायतको हुबबहु नक्कल गर्छन् । त्यस्तै, फिल्मी क्षेत्रका कलाकारहरुमा राजेश हमाल, दिलिप रायमाझी, सुनिल थापा लगायतको अभिनय गर्छन् उनी ।
त्यस्तै, पत्रकार ऋषि धमला, गायक रामकृष्ण ढकाल, हेमन्त शर्मा, तारादेवी, लतामङ्गेश्वर, नारायण गोपाल लगायतको समेत स्वर निकाल्छन् उनी । उनलाई कसैको स्वर नक्कल गर्न २ दिन अभ्यास गर्नु पर्छ । उनले कक्षा ९ मा पढ्दा पहिलो पटक स्व। शुशील कोइरालाको अभिनय गरे । त्यस पछि उनी निरन्तर नक्कल गरिरहेका छन् ।
उनका भाइ अजय शाह पनि उनी जस्तै नक्कल गर्नमा खप्पिस छन् । ‘मैले अवसर पाइन’, उनी भन्छन्, ‘कलाकारहरुको बारेमा बुझिदिने मान्छेहरुको कमि रहेछ हाम्रो समाजमा ।’ उनले अहिले सम्म ४ दर्जन बढी स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेका छन् ।
उनले अगामी दिनमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ, नायक अनमोल केसी, गायनमा उदित नारायण, राजेश पायल र नेताहरुमा बामदेव गौतम र नारायण काजी श्रेष्ठको नक्कल गर्ने सिक्ने योजना लिएका छन् । भविष्यमा आफ्नै मौलिक अभिनय गरेर एउटा सफल हाँस्य कलाकार बन्ने लक्ष्य उनको छ ।