सोध्छिन् जब अबोध तोतेबोलीमा छोरी
सोझ्याउँदै चोर औंला __पऽर भिडतर्फ
भिडले घेरेको छ रगत लतपतिएको
निर्वस्त्र क्षतविक्षत स्त्री देह !
अबोध छिन् र बुझ्दिनन् ,
जिज्ञासु छिन् र सोध्छिन् बारम्बार ।
चाहन्न बेथितिले धमिल्याउन त्यो मन ,
जिजीविषा हराउँदै गएको समयमा
डर लाग्छ आफैभित्र कताकता
‘मेरी एन्टोनेट’ सलबलाउँछ दिमागभरी ।
जल्हाद मनसँग पौठेजोरी खेल्दै
उभिन्छु ‘मूर्ति’ उनका अघि ।
आफैभित्र खोज्छु आफुलाई
कसरी सक्छु निरीह उभिन ?
कसरी भनुँ खतरामा छौ
तिमीले आफ्ना ठानेकाहरुबाट ।
तन्द्रामा जब देख्छु-
निर्वस्त्र भाग्दै गरेकी नकाबधारीबाट ,
झस्किन्छु , तर्सिन्छु , आतंकित हुन्छु ।
कहाँ होला बाबुको छहारीभन्दा सुरक्षित ?
कसरी भनुँ छोरीलाई –
‘सुरक्षा कवच’ विश्वासलाई च्यातेर धुजाधुजा
अस्मिता सकिन्न जोगाउन ,
पाइलैपिच्छे ठडिने ‘धरहराहरु’बाट ।
बुझ्ने भएपछि नसराप्नु देशलाई ,
नधिक्कार्नु छोरी जन्मदातालाई ।