झापा । चीनका दक्षिण एसिया विज्ञ तथा रेल विशेषज्ञहरूले तिब्बतबाट हिमालय पार गरी दक्षिण एशियातिर विस्तार हुने रेलमार्ग बनाउन प्रविधि र अनुभव दुवै रहेको बताएका छन्। सन् २०२० सम्ममा चीनको केरुङ सम्म रेल ल्याउने लक्ष्यका साथ काम थालेको चीनले नेपालको भुभाग सम्म रेल ल्याउन सम्भब भएको बताएका छन् । चाईना डेल्लीमा प्रकाशित समाचार अनुसार चीनले केरुङ सँगै नेपालको सिमा रसुवागढी हुदै काठमाण्डौ सम्म रेल बिस्तार गर्ने ईच्छा देखाएको छ । चिनियाँ रेलमार्ग विशेषज्ञहरुका अनुसार विश्वको सबभन्दा उच्च हिमशृंखला तथा पुराना हिमनदी नजिकैबाट प्रतिघण्टा एक सय किलोमिटर गतिको रेल कुदाउनु अब सपना मात्रै हुनेछैन। केरुङबाट नेपालको रसुवामा जोडिएको स्थान १ हजार ८ सय मिटर मात्र उचाइमा छ, जसले गर्दा हिमालय–पार रेलमार्ग निर्माण सम्भव भएको चिनियाँ विशेषज्ञले बताएका हुन्।
त्यस्तो रेलमार्ग तिब्बतको सिगात्सेबाट सुरु हुने र नेपाल–चीन सिमानाको केरुङ उपत्यका हुँदै काठमाडौँसम्म आउने उनीहरूले बताएका छन् । तिब्बत सम्बन्धी विभिन्न विषयमा छलफल गर्न बेइजिङमा भेला भएका विज्ञहरूले आफ्नो अध्ययनको आधारमा त्यस्तो रेल उच्च गतिको भने नहुने बताएको शुक्रबार बेइजिङबाट प्रकाशित हुने चाइना डेलीले जनाएको छ।
चीनले तिब्बतलाई अन्य स्थानसँग जोड्न निर्माण गरेको रेलमार्ग सन् २००६ मा पुरा भएको थियो, जुन १ हजार १ सय किलोमिटरभन्दा लामो छ । २०१४ मा ल्हासाबाट २ सय ५३ किलोमिटर विस्तार गरी त्यसलाई तिब्बतको दोस्रो ठूलो शहर सिगात्सेसम्म ल्याइयो । तिब्बतको हिमाली क्षेत्रमा यो रेल प्रतिघण्टा १ सय किलोमिटरको गतिमा चल्छ।
चीनले सिगात्से आइपुगेको यही रेलमार्ग २०२० सम्ममा नेपालको सिमा छेउको केरुङसम्म जोड्ने योजना अनुसार काम गरिरहेको छ । नेपालले उक्त रेलमार्ग काठमाडौँसम्म जोड्ने तयारी गर्दैछ भने चीनले यसबाट नेपालसँग आर्थिक, सांस्कृतिक र धार्मिक सम्पर्क बढ्ने आशा गरेको छ ।
‘हिमालय वारपार रेलमार्ग निर्माण गर्नु अब आर्थिक र प्राविधिक दुवै हिसावले सम्भव छ,’ बेइजिङ युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक जोङ ग्याङले चाइना डेलीसँग भनेका छन्।
दक्षिण एसियाको बजारलाई लक्षित गरी केरुङमा चीनले निर्माण गरेको सुख्खा बन्दरगाहको उचाई समुद्र सतहदेखि २ हजार ८ सय मिटर रहेको छ। तर केरुङबाट नेपालको रसुवामा जोडिएको स्थान भने १ हजार ८ सय मिटर मात्र उचाइमा छ, जसले गर्दा हिमालय–पार रेलमार्ग निर्माण सम्भव भएको चिनियाँ विशेषज्ञले बताएका हुन्। जबकी ३ हजार ७ सय मिटर उचाइमा रहेको ल्हासा र ३ हजार ८ सय मिटर उचाइमा रहेको सिगात्सेमा समेत चीनले त्यही रेल चलाइरहेको छ ।
तिब्बत स्वशासित क्षेत्रका सरकार प्रमुख लोसाङ जामकानका अनुसार रेलमार्ग निर्माण गर्नु तिब्बतलाई दक्षिण एशियाली मुलुकहरुसँग खुला गर्ने सबभन्दा शक्तिशाली उपाय हो ।
चार महिनाअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको क्रममा दुई देशबीच रेलमार्गसहित केनेक्टिभिटि बढाउने सम्झौता भएको थियो । त्यसपछि चिनियाँ कम्पनीहरूले रेलमार्गको संभाव्यता अध्ययन गरिसकेका छन् ।
चीनको सिएएमसी इन्जिनियरिङ कम्पनीले केरुङ–काठमाडौँ १ सय २१ किलोमिटर रेलमार्ग निर्माण सम्भव रहेको अध्ययन प्रतिवेदन दिएको छ भने चीनका अन्य सरकार र नीजि कम्पनीहरूले पनि अध्ययनमा चासो देखाएका छन्।
चीनले राष्ट्रपति सी जिनपिङको ‘वान बेल्ट वान रोड’ योजना अन्र्तगत तिब्बतबाट नेपाल हुँदै भारतसम्म रेलमार्ग जोड्ने योजना अगाडि सरेको छ । बेइजिङका दक्षिण दक्षिण एशिया विज्ञ मा जियली भन्छन्, ‘विश्वको अर्को ठूलो अर्थतन्त्र भारतसँग पनि जोडिने हुनाले हिमालय आरपार रेलमार्ग आर्थिक हिसाबले निकै महत्वपूर्ण छ।’