काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताउनुभएको छ ।
२०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधराण र कालजयी रहेको बताउनुभएको छ । “भानुभक्तले साहित्य मार्फत समाज सुधारका लागि ठुलो योगदान गर्नु भएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना,शैली र प्रवृतिको आफ्नै महत्व रहेको बताउनुभएको छ । प्रतिष्ठानले कार्यलय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओली सकारात्मक हुनु भएको छ ।
“तपाईंहरुका मागका सम्बन्धमा मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गरिनेछ ” प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाउनु भएको छ । प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण गर्नुभएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘सांस्कृतिक अस्मिताका प्रतीकः तुलसीदास र भानुभक्त’ को विमोचन तथा भानु जयन्तीमा उत्कृष्ट प्रतिभालाई पुरस्कृत गर्नुभयो ।
कोलकत्तास्थित आनन्द प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तक डा सत्यप्रकाश तिवारीले हिन्दीमा सम्पादन तथा राजेन्द्रप्रसाद उपाध्याय ढकालले नेपालीमा अनुवाद गर्नुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भानु जयन्तीका अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमको सराहना गर्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मुलुकको भौगोलिक एकीकरण गरेका पृथ्वीनारायण शाह र भाषाका माध्यमबाट भावनात्मकरुपमा देशलाई एकता गर्ने भानुभक्तलाई सबै नेपालीले सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भानु प्रतिष्ठानका अध्यक्ष व्रत्तराज आचार्यले भानुभक्तको जन्मथलोलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।