विर्तामोड । झापाको बिर्तामोडमा लोपोन्मुख तथा आदिबासी सांस्कृतिक मेला आयोजना हुने भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बिर्तामोडस्थित कन्काई एजुकेशन फाउन्डेसनको खेल मैदानमा शनिबार उक्त सांस्कृतिक मेला आयोजना गर्न लागेको हो।
पूर्वी तराईमा बसोबास गरिरहेका लोपोन्मुख तथा अल्पसंख्यक आदिबासी जनजातिका मौलिक परम्परागत संस्कृति र पहिचानलाई राष्ट्रिय संस्कृतिको मूलधारमा समेटेर संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिब गणेश रसिकले विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
सांस्कृतिक मेलामा माझी, उराव, मेचे, मुण्डा, किसान, धिमाल, सन्थाल, खडियालगायत जातका लोकसंस्कृति र परम्परागत नृत्यहरु प्रस्तुत गरिने रसिकले बताए। मेलामा ८ वटा टोलीले नृत्य प्रस्तुत गर्नेछन्।
माझी जातिको रङपचाली, सन्थाल जातिको सुर्हाई, किसान जातिको दंता–डरिया, उराव जातिको ढोडिया, धिमाल जातिको ढल बजाइसु ओ नेलाई, खडिया जातिको दसेरा–करम, मुन्डा जातिको झुमेर तथा मेचे जातिको बैसागु रुङ्जा नैनी नाच प्रस्तुत गरिने रसिकले जानकारी दिए। नाज देखाउने हरेक टोलीलाई ३० हजार रुपैयाँ पारिश्रमिक दिइने बताइएको छ।