झापा । सोमबार विर्तामोड झापाको अन्दुवा पुल नजिक राष्ट्रिय वाणिज्य बैंक अगाडि राप्रपा नेपालले हिन्दुत्व जागरण सभाको आयोजना गर्यो । विहान करीब ११ बजेसम्म बैंकमा सेवाग्राही आवत जावत गर्न पाए । त्यतिन्जेल पनि माइकको आवाजले बैंकका कर्मचारीलाई काम गर्न असहज भएको बताइरहेका थिए । एकजना बैंकका कर्मचारीले भने, ‘हामीले बोलिसक्दा पार्टी विरोधी भन्छन् । हामीले काम गर्नसक्ने वातावरण भएन ।’
विहान ११ बजेपछि जब मान्छेको भीड बढन थाल्यो बैंक अघिल्तिरका भाग सबै कार्यक्रममा आएका मान्छेले भरिए । बैंकमा पैसा झिक्न आएका संखुवासभा चैनपुरका टंक अधिकारीले बैंक भित्रै खबरमञ्चसंग भने, ‘यो त अति भो । मलाई मान्छेको भीड छिचोलेर यहाँसम्म आइपुग्न करीब आधा घन्टा लाग्यो ।’ राजगढ झापाकी जुनु लिम्बुले पनि बैंकमा आउने सेवाग्राहीले दुःख पाएको बताइन् ।
बैंकका कर्मचारीले पनि अब चाहीँ आजित भइसकेको बताए । बैंकका सहायक प्रवन्धक शैलेन्द्र उप्रेतीले पैसा लिएर आउने र पैसा बैंकबाट झिकेर लैजाने सेवाग्राहीलाई भीडमा सबभन्दा बढी जोखिम हुने बताए । उनले भने, ‘हामीले बारम्बार दुःख पाएका छौं ।’
यो त एउटा उदाहरण मात्र हो । विर्तामोडमा जतिवटा सार्वजनिक कार्यक्रम हुन्छन् राष्ट्रिय बाणिज्य बैंक अगाडि सडकको छेउमै हुन्छन् । केही दिन अघि प्रहरी लगायत विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रम पनि त्यही स्थानमा भएको थियो । पूर्व पश्चिम राजमार्ग छेउमा हुने गरेका कार्यक्रमका कारण मानिसको भीडले सवारी साधन आवत जावतमा समेत कठिनाई उत्पन्न हुने गरेको प्रहरीको भनाई छ ।
उक्त स्थानमा सार्वजनिक कार्यक्रम गर्न नपाइने भएकाले जिल्ला प्रशासन कार्यालयबाट कसैले पनि सो स्थानमा कार्यक्रम गर्न अनुमति नलिएको सहायक प्रमुख जिल्ला अधिकारी डमरु निरौलाले बताए । उनले भने, ‘हामीबाट कसैले पनि उक्त स्थानमा कार्यक्रम गर्ने अनुमति लिएका छैनन् । कार्यक्रम उनीहरु आफैं त्यहाँ गरेका हुनसक्छन् ।’
राष्ट्रिय वाणिज्य बैंक लगायत उक्त स्थान नजिक गुडविल बैंक समेत रहेको छ । सोही स्थानमा प्रायः सबै राजनीतिक दलका सभा हुने गरेका छन् ।

