काँकरभिट्टा । सत्ता बाहिर रहेको नेकपा एमालेका नेता घनश्याम भूषाल र सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेता आहुती नेपालका राजनीतिक दलले लगाउने गरेका वर्ग उत्थानका नारा पूरा हुन नसकेकोमा सहमत देखिएका छन् । रिडर्स झापाले आयोजना गरेको कला साहित्य उत्सव २०७३ को दोस्रो दिनको अन्तरक्रियामा उनीहरु त्यसरी सहमत भए ।
उनीहरुका पार्टीमा वर्ग उत्थानका कुरा हुन्छन् । वर्ग संघर्षका कुरा हुन्छन् । नारा उस्तै छन् । तर संघर्ष अलग अलग छन् । एउटै मञ्चमा देखा परेका यि दुई फरक पार्टीका नेताहरुले उनीहरुका कुरा सुन्न आएकाहरुलाई राजनीतिक दलले वर्गसंगै वर्णको पनि उत्थानमा लाग्नु पर्ने बताउँदै थिए ।
उनीहरुको वर्णको परिभाषामा जातीय उत्पीडनमा परेका दलीत भनिएकाहरुप्रति लक्षित थियो ।
आहुतिले भने, ‘झापा विद्रोहको नेतृत्वकर्ता एमालेका उपल्लो जातिका मान्छेहरु कम्तीमा सांसदसम्म भए । तर त्यही विद्रोहमा होमिएका पानबीर विश्वकर्मा केही भएनन् । किन ? उनको बारेमा बोलिदिने कोही भएनन् ।’
एमालेका नेता घनश्याम भूषालले अब समुदायलाई उठाउनका लागि त्यस्ता समुदायका मानिसको आर्थिक स्थिति उकास्न जरुरी रहेको बताए । उनले भने, ‘आर्थिक सम्बृद्धिविना कुनै पनि वर्ग वा वर्णका मानिसको उन्नति हुँदैन ।’ उनीहरुले पार्टीहरुले दलितहरुलाई कमिटिमा नै राख्न नचाहेको बताए ।
कला साहित्य उत्सवमा शुक्रबार भाषाको विवादका विषयमा पनि बहस चल्यो । बहसमा नेपाली भाषाका ज्ञाता केदार शर्मा, पत्रकार तथा विश्लेषक चन्द्र किशोर तथा साहित्यकार राजन मुकारुङ सहभागी थिए । मुकारुङले भाषा सुधार्ने र विगार्ने खेलले नेपाली भाषालाई कमजोर बनाएको बताए । उनले भने, ‘कसैलाई भाषा विगारेर होस वा सपारेर नयाँ शब्दकोष बेच्नु छ त कसैलाई पुरानै शब्दकोष बेच्नु छ । यो सब जुंगाको लडाईं हो ।’
नेपाली भाषाका ज्ञाता केदार शर्माले भाषा गतिशील हुनाले यस्ता कुराहरु आइरहने बताए । चन्द्रकिशोरले आगन्तुक शब्द नेपाली भाषामा समावेश गर्ने हो नेपालमै अन्य भाषाबाट त्यस्ता शब्द ल्याए त्यस्ले भाषिक सौन्दर्य बढाउने बताए ।
शुक्रबार कला लेखन र प्रकाशन, नेपाली समाजमा बर्ग र बर्ण, भाषाको राजनीति, दक्षिण एसियाको बौद्धिक परम्परा, नेपाली साहित्यको पात्र विधान, इतिहास, साहित्य र राजनीति विषयहरुमा छलफल भएका थिए । उत्सव शनिबार समापन हुँदैछ ।