काँकरभिट्टा । नेपालको सीमावर्ती काँकरभिट्टामा कला साहित्य उत्सव २०७३ विहीबारदेखि सुरु भएको छ । उक्त उत्सवमा देशभरबाट साहित्यकार, कलाकार, पत्रकार, राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका मानिसहरुको उपस्थिति रहेको छ । काँकरभिट्टा खानेपानी कार्यालय परिसरभित्र आयोजित उत्सवमा विहीबार ९ वटा सेसन चलेका थिए ।
तीन दिनसम्म चल्ने उक्त उत्सव रिडर्स झापाले आयोजना गरेको हो ।
‘समाजबाद उन्मुख संविधानको चिरफार’ शीर्षकको सेसनमा त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक चैतन्य मिश्रले आफ्ना धारणा राखेका थिए । अर्काे सेसन ‘झापा केन्द्रित लेखन र प्रकाशन’मा खगिन्द्रा खुशी, चूडामणि बशिष्ठ र कृष्ण बरालविच अन्तरक्रिया गरिएको थियो ।
‘नेपालको वित्तीय नीति’ विषयमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडाले बोलेका थिए । मूर्ति र मूर्तिकारका विषयमा राखिएको ‘मूर्ति, मूर्तिकार र समाज’ विषयक बहसमा अमीर सुन्दास, विजय श्रेष्ठ र जीवन पौडेलविच बहस चलेको थियो ।
त्यसैगरी ‘नेपाली साहित्यमा नारीबाद’विषयक बहसमा सीमा आभास, हरिमाया भेटवाल र अर्पणा थापा सहभागी थिए ।