विर्तामोड । विर्तामोड नागरिक समाजले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा साहित्यकार झमक घिमिरेले आफूलाई गलामा लगाइदिएको माला फ्याँकिदिएकी छिन् ।
विर्तामोडमा बुधबार साहित्यकार घिमिरेलाई अभिनन्दन गरिएको कार्यक्रममा पत्रकार चन्द्र भण्डारीले भारतबाट आयातित मालामा बिष हालेको भनेपछि उनले गलाबाट माला निकालेर फालिदिएकी हुन् ।
भण्डारीले समारोहमा आयोजकलाई प्रश्न गर्दै भने, ‘तपाईंहरुलाई कसले अधिकार दियो उहाँको गलामा बिष हालेको माला लगाइदिन ?’
साहित्यकार घिमिरेले माला मात्र फालिनन् उनको शरीरमा बिषको टाँसियो कि भनेर छेउमा रहेकी उनकी आमालाई रुमालले सफा गरिदिन समेत लगाइन् ।
त्यो देखेर भण्डारीले भने, ‘उहाँसंग अपार देशभक्ति छ ।’
कार्यक्रममा उपस्थित सबै अतिथिहरुलाई भण्डारीले माला गलाबाट निकाल्न आग्रह गरे । प्रमुख अतिथि पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले पनि हत्त पत्त माला गलाबाट निकाले । केही अतिथि बाहेक प्रायःको गला खाली भयो ।
साहित्यकार घिमिरेलाई नागरिक अभिनन्दन
विर्तामोड नागरिक समाजले साहित्यकार घिमिरेलाई बुधबार नागरिक अभिनन्दन गरेको छ । उनलाई नगद ५१ हजार राशिसहित अभिनन्दन गरिएको हो ।
झापामा क्रियाशील एक सय भन्दा बढी संघ संस्थाले उनलाई अभिनन्दन गरे । अभिनन्दन पत्र तथा नगद राशि पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले हस्तान्तरण गरे ।
कार्यक्रम गर्न अघि साहित्यकार घिमिरेलाई विर्तामोड परिक्रमा गराइएको थियो ।