काठमाडौं । भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’की बिजेता टेरिया फौजा मगरले आफ्नो क्षमताले मात्रै बिजेता नबनेको बताएकी छिन् ।
उनले भनिन्,‘मेरो क्षमता त छदै थियो, त्यतिले मात्र म सफल बनेकि होईन्, देश तथा बिदेशमा रहेका सम्पूर्ण नेपालीहरूको भोटिङ्को अमुल्य सहयोगले म सफल भएकी हुँ ।’

शनिबार रिपोर्टर्स क्लब नेपालमा टेरिया मगर फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले आफूलाई नेपालमा बस्दिनन् भनेर कुरा चलिरहँदा, आफू जहाँ भएपनि नेपालकै लागि काम गरिरहेकाे बताइन् ।
उनले अघि थपिन्,‘म नेपालमा बसेर केही काम गरे भनें टेरिया नामले मात्रै चिनिन्छु, यदि म बाहिर बसेर सानो प्रगति गरें भने नेपालकी टेरियाले यस्तो गरिन भनेर आउँछ, त्यसैले म जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु ।’

कार्यक्रममा बाेल्दै रक्षामन्त्री बालकृष्ण खाँणले टेरियालाई शान्तिदुत र राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्नका लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताए ।
नेपाल र नेपालीको शिर उच्च पार्ने महत्वपूर्ण काम गरेकी टेरियालाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्न मन्त्रीपरिषदमा कुरा राख्ने उनले बताए ।

‘टेरियाले सानै उमेरमा देशको लागि ठुलो योगदान दिएकी छिन्, उनको योगदानले नेपाल र नेपालीको शिर उच्चा बनाएको छ, भावि पुस्ताका लागि अनुकरणीय र वर्तमान स्थितिका वालबालीकाका लागि आर्दशको रुपमा टेरिया अघि आएकी छिन्, टेरियाको ईच्छा चाहना र आवश्यकता पूर्ति गर्न सरकार जहिलेपनि सकारात्मक छ ।’
