पार्टीले सुरु गरेको पार्टी सुदृढीकरण अभियानअन्तर्गत ५ दिनको मिसन ग्रासरुट अभियान लिएर एमाले अध्यक्ष केपी शर्मा ओली अहिले लुम्बिनी प्रदेशमा छन्।
लुम्बिनीका ५ जिल्लामा ५ दिन बिताउने योजना अनुरुप उनी शनिबार कपिलबस्तु पुगेका थिए। कपिलबस्तुमा लुम्बिनी अवलोकनदेखि अन्य बेद आश्रमसम्म ओलीले पुग्न भ्याए।
आइतबार बिहान कपिलवस्तुको भेटघाट सकाएर उनी अर्घाखाँची निस्किए। पत्नी राधिका शाक्यलाई साथै लिएर गएका ओलीले सडक मार्गबाट जाँदा बाटामा भेटिएका सर्वसाधारणसँग मात्र भेटेनन्, बाटामा भेटिएका र बाटो पर्ने ठाउँमा रहेका मुख्य पर्यटकीय स्थलको भ्रमण समेत गर्न भ्याए। जसअन्तर्गत उनले सुपादेउराली मन्दिर पुगेर दर्शनसमेत गरे।
४५-४६ सालमा पन्चायतविरुद्धको आन्दोलनका क्रममा अर्घाखाँची बसेर लामो समय मोर्चा सम्हालेको कारण पनि ओलीका लागि अर्घाखाँची विशेष छ। त्यसैले उनले सकेको र भ्याएसम्म त्यहाँका पूराना नेतालाई भेटे। पूराना आफू जोडिएका ठाउँहरु पुगे।
जिल्लाको मुख्य प्रशिक्षण कार्यक्रमका क्रममा पनि ओलीले यो कुरा सुनाए। ‘मलाई यो जिल्लासँग अचम्मको माया छ, कति घरमा, कति गाउँमा कसरी दिन दिन बिताएको थिएँ, ४५ सालमा म केपी ओलीको नामले होइन अबिरामको नामले चिनिन्थेँ, मेरो लबजले यहाँका धेरै स्थानीयले यहाँको होइन भन्ने त पत्ता लगाउँथे तर असाध्यै माया र स्नेह दिन्थे,’ उबेलाकै उत्साह र उमंगलाई मुहारमा उतार्दै ओलीले सुनाए।
आन्दोलनपछि भने पार्टीमा लागेका नेता कार्यकर्तालाई हत्या गर्ने, धरपकड गर्ने अनेकन दुःख दिने गर्न थालेपछि केही समयपछि केपी ओलीकै नाममा जिल्लामा बसेको उनले सुनाए । प्रशिक्षणको कार्यक्रमपछि अर्घा देवी मन्दिर पुगेर पूजाआजा गरे।
एकदिन त्यहाँ रहँदा उनले अर्घाखाँचीमा निर्माणाधीन बिमानस्थलको अलवलोकनसमेत गरे।
राजनीतिक कार्यक्रममा गएका ओली राजनीतिक भेटघाट मात्र गरेनन्। स्थानीयहरुसँग रमाइलो पनि गरे। राजनीतिमा निकै कडा र हक्कि स्वभावका मानिने ओलीको राजनीतिभन्दा बाहिरको जीवन पनि अर्घाखाँचीले देख्न पायो।
निकै रसिक स्वभावका ओली अर्घाखाँचीको मसुरडाँडामा पत्नी राधिका शाक्यसँग प्रेमिल मुडमा देखिए। त्यहाँ उनले शाक्यसँग फोटो खिचे। भिडियो बनाए। स्थानीय नेता कार्यकर्ताहरुसँग सेल्फी खिचे।
पञ्चायतविरुद्धको आन्दोलनमा होमिँदामा अविराम केपी ओली भएर स्वच्छन्द एक दिन अर्घाखाँचीमा बस्दा ओलीमा छुट्टै खुशी देखिन्थ्यो।
अर्घाखाँचीको एकदिनको बसाइँ सकेर ओली आज सडकमार्गबाटै गुल्मी पुगेका छन्। गुल्मीमा एकदिन विताएर भोलि उनी पाल्पा जानेछन्। १५ गते रुपन्देही हुँदै साँझ काठमाडौँ फर्किने तालिका छ।
सबै तस्बिर: केपी ओलीको सचिवालय।