सायद म कक्षा पाँचमा पढ्थेँ होला । जुरुक्क उठ्यो अनि अँगेनाको छेउमा गएर टुसुक्क बस्यो । कुँडेमा दुध तातिरहेको हुन्थ्यो । यही नै दैनिकी थियो मेरो ।
बा नरिवलको खबटालाई दुइ तिरबाट प्वाल बनाएर बाँसको सिन्काको डन्डी घुसारेर बनाएको डाडुले उम्लदै गरेको दुध उघाउँदै माथि पुर्याएर ध्वार्र ध्वार्र पार्दे चलाउनु हुन्थ्यो ।
मेरो सँधैको खुराक त्यहि कुँडेको पिँधमा थियो । जबसम्म दुध सेलाउँदैनथ्यो र ठेकीमा हालिँदैनथ्यो तबसम्म कुँडे कोर्न नमिल्ने ।
जब कुँडे खाली हुन्थ्यो तब म खिइएर डन्ठीमात्र बाँकी रहेको पुरानो फलामको पुन्यू लिएर कोर्न थाल्थेँ ।
हातमा त कालो मोसो लाग्थ्यो थुचुक्क बसेर आफु जत्रै कुँडे कोर्दा सबै जिउ नै कालो हुन्थ्यो ।
नित्य कर्म सकेपछि स्कुल जाने बेला पनि भै हाल्थ्यो अनि फेरी नियमित खुराक बासि भातमा दुध हालेर फत्काएको नक्कली खिर । खाएर निस्कन मलाई जहिल्यै हतार हुन्थ्यो ।
नयाँ माने कापी बाहिर इगलको ठुलो चित्र भएका मेरो थैलीजस्तो मुख भएको झोला भित्र थिए । झोलालाई पछाडी भिरेर फुत्त घरबाट निस्किएर पर्तिर सल्लाको बनको बाटो सल्लीपिरमा चिप्लदै माथि स्कुल जाने दैनिकी थियो ।
सल्लेरी बनमा रातो माटो पानी परे पछि सुलुत्तै चिप्लने ।
अलि माथि डाँडामा मेरो स्कुल । डाँडामा भएकोले नै होला नाम नै डाँडाको स्कुल भन्ने गर्थे ।
एउटा डाँडामा टुक्रुक्क बसेको जम्मा ६ कोठाको रुपरंग उडेर गएको नाम मात्र बाँकी रहेको संरचना कुनै पनि बेला हुरीको चपेटामा पर्न सक्थ्यो ।
हावाले छाना नउडाओस् भनेर भर्याङ छेउमा बाहिर निस्किएको मुल निदालमा डोरीले बाँधेर माथि छानामा कसिएको थियो ।
हेडसर सबै बिधार्थीको नजरमा डाकु भन्दा कम थिएनन्, सारै कडा । होचा कदका अलि नाके नाके बोल्ने उ जमानामा मेट्रीक पास । जति नै कडा भए पनि हामी तिनलाई छल्न अनि अनेक फटाइ गर्न अगाडी हुन्थ्यौं ।
पाँचौ कक्षा भुइँतलाको सबै भन्दा पल्लो कोठामा थियो त्यसको ठिक माथि स्टाफ कोठा । स्टाफ कोठाको तलामा माटोले नछापेर काठले छापिएको थियो । माथि सरहरु हिँड्दा फलेकका चेपबाट धुलो खसेर हाम्रो कपाल खैरै हुन्थ्यो ।
हामी पनि के कम र बदला लिइ हाल्थ्यौं । हातमा बाँसको सानो तिखो सिन्का लियो बेन्च माथि चढ्यो अनि जब सरका खुट्टा फलेकका चेपमा पर्थे तब तलबाट जोडले घोच्थ्यौं । माथिबाट सरको डर लाग्दो आबाज आउथ्यो…… पख तिमीहरुलाई ।
जब सर तल आएर रिसाएर सोध्नु हुन्थ्यो तव हामी सबै चुपचाप किताब हेरेर बस्थ्यौं । सबै एकमत हुन्थ्यौं । अनि सर हार मानेर जानु हुन्थ्यो ।
एकदिन यही नियमितता दोहोरिएको थियो तर शिकार गलत परेछ । हेडसरको खुट्टामा पो सुइरो घोचिएछ ।
नाके नाके स्वर यस्तो भयानक भयो कि हामि सबैको सातोपुत्लो नै उड्यो ।
तर सजाय चाहीँ सबैले पायौँ हप्तामा एक पटक कोठा लिप्नु पर्ने ।
केटाको काम गोबर र माटो खोजेर ल्याउने अनि पानि ल्याउने केटीको काम लिप्ने ।
*********** दिनहरु यसरी नै बित्दै थिए…………………………………………………. एकदिन बेलुका भात खाने बेला भएको थियो, साँझ झपक्क परिसकेको थियो, म थालमा भात मुछेर ठिक्क पहिलो गाँस हाल्न मात्र के खोज्दै थिएँ एकाएक बा मूल ढोकाबाट छिर्नु भयो र मलाई भन्नु भयो, जा त तेरो हिजो किनेको माने कपी लिएर आइज । के के लेखिछस् हेरौं ।
लौ, मेरो गोप्य कुरा बालाई यति चाँढै कसरी थाहा भयो ?
कि नयाँ कपीमा छोराले कस्तो लेखेछ भनेर साँच्ची नै जाँच्न खोज्नु भएको हो ?
मलाइ द्विविधा भयो ।
कि त्यो साले योगिन्द्रेले सबै कुरा बासँग ओकली सक्यो । मलाई अझ तनाब भयो ।
हैन हैन त्यसले त्यसो गर्न सक्दैन, यदि बालाई सबै कुरा थाहा रैछ भनेत मेरो खैराँत छैन ।
अचानक मेरो ढाडले मलाई सतर्क गराउन थाल्यो भाग्छस् भने भाग हैन भने यो पटक म तेरो साथ दिन सक्दिन । गल्ती गर्ने तँ चोट पाउने म । फेरी बाको आदेश आयो । खै त गएको छिटो लिएर आइज । यस पटक बाको आवाज अलिकता ठूलो थियो ।
अब चाहीँ मलाई थाहा भै सक्यो कि बालाई सबै कुरा थाह भै सकेछ ।
पख् न, साले योगिन्द्रे, तँलाइ भोलि भेटौं मात्र न ।
तर यहाँ त अहिलेको नै समस्या कसरी टार्नु नै मेरो लागि त चुनौती थियो ।
म जुरुक्क उठेर बाहिर भर्याङ तिर लागे । ………………………………………. कहाँ जाला र भरे भात खान त आउला नि, रे ।
आज चाँही यस गिठ्ठालाई भकुन्डो जस्तै लात्ती नहानी त कहाँ छोडौंला र ।
तल आँगनबाट आएको बाको डरलाग्दो आवाज मेरा कानमा मधुरो सुनिँदै थिए र म कोदोको भकारी भित्र झन्डै झन्डै नाकसम्म डुबेर मनमनै बाको क्रुद्ध स्वरुपको कल्पना गर्दैथिएँ ।
नाकमा कोदोको तिखो गन्धले आक्रमण त गर्दै नै थियो । अझ भकारी माथि गुन्द्री नभएको भए त बाको आवाज ले नै मेरो सुरुवाल भिजाई सक्ने थियो होला ।
बल गरेर स्वास लिदै गर्दा हजुरआमाको आबाज मधुरो सुन्दै थिएँ ।
छोड्दे अब, केटाकेटी नै छ । अबदेखि त्यस्तो गर्देन ।
बा झन उग्र हुँदै थिए ।
भुत्रोको केटाकेटी हुन्छ । पाँच कक्षामा पढ्नेको बुद्दि यस्तै हुन्छ ?
कहाँ जाला र आज चाहीँ यसलाई भेटौं मात्र न मैले जान्या छु । जति माया गरे नि नहुने ।
लौ अब त म ग …बाट ज…मा पुगिसकेको रहेछु । सकिएछन् आजदेखि मेरा दिन । म डरले लुगलुग काम्न थाले। ………………………. माने कपी लिन भर्याङ्ग चड्दाखेरी मेरो दिमागले काम गर्न छोडिसकेको थियो ।
जब मैले मेरो किताबको झोला देखेँ तव मेरो दिमागमा एउटा आइडिया आयो ।
भाग केटा मौका पाएको छस् । भाग्न त भाग्ने तर कहाँ । यसो बाहिर हेरेँ पुरै अँध्यारो हुन थालेको छ ।
आफूलाई साँझ पर्ने बित्तिकै बाहिर निस्कन भनेपछि डरले काम पुग्ने ।
अब घर भित्रै सुरक्षित स्थानको खोजी गर्नुको बिकल्प रहेन । कहाँ लुक्ने । खाटमुनी लुकौं पक्राउ खाने डर । कतै कुनाकुनी पनि देखिन । यसो पर्तिर धानको ढिकुटी थियो तर आफूलाई धानको खियाले जिउ चिलाएर एलर्जि नै हुने ।
एउटा बिकल्प बाँकी नै थियो माथिल्लो तलामा जाने । माथिल्लो तलामा एउटा ठिक्कको भकारीमा कोदो राखिएको थियो र माथिबाट एउटा गुन्द्रीले ढाकिएको ।
र म त्यही ढिकुटी भित्रबाट तलका संवाद मधुरो सुन्दै थिएँ ।
दुईवटै हात भकारीको कोदो भित्र थिए, नाक भन्दा माथिको भाग मात्र बाहिर । मुस्किलले सास फेरीरहेको थिएँ । ठुलो सास फेर्यो भने खोजि गर्ने क्रममा म पक्राउ पर्ने डरले अलि अलि गरेर मात्र ज्यान जोगाइरहेको थिए । ………………………………. बित्थामा मैले ति नयाँ दुईवटा माने कपी बिस्कुटसँग साटेर खाएछु । मागेको भए त बाले किनिदिनु हुन्थ्यो नि ।
आखिर मेरा बा पनि त त्यहि स्कुलकै शिक्षक नै त हुनुहुन्थ्यो ।
अलिकति पर्तिर रहेको कोइरालाको पसलमा अनेक थरीका चकलेट बिस्कुट थिए ।
मलाई एक बजेको छुट्टीमा बाले एउटा कागजको चिर्कटोमा लेखेर सहि गरेर दिनु हुन्थ्यो अनि म त्यही चिर्कटो रुपी पैसा बोकेर जान्थे र ति साहुनीलाई दिन्थें ।
उनी पनि यसो पढे जसो गरेर मलाई कहिले बिस्कुट त कहिले अरु नै के के दिन्थिन् ।
शिक्षकहरुको चौमासिक रुपमा मात्र तलब आउने हुनाले त्यहाँ बाले बाँकी कारोबारको लागि खाता खोल्नु भएको रहेछ र पछि तलब आएपछि तिर्ने गर्नुहुँदो रहेछ ।
मेरो पछाडी दुई चार जना साथीहरु हुन्थे तिनीहरुसँग पैसा हुँदैनथ्यो र केही किनेर खाँदैनथे ।
तर पनि एकपटक चाहीँ त्यो दोकानमा पुगेकै हुन्थें । कतै कोही आइपुगिहाल्छ कि र केही किनिदिइ पो हाल्छकी भनेर ।
मसँग गएका साथीहरु कहिले एक पाप्रो बिस्कुट भेटी हाल्थे त कहिले हेरेको हेरै हुन्थे ।
त्यो सबै मेरो मुडमा नै भर पर्ने थियो । यदि बिस्कुट भेटेनन् भने मलाई कर्के आँखा लगाएर पर माजनका बारीमा मेल चोर्न जान्थे । अनि टर्रो मेल टोक्दै मुख बिगारेर मेरो छेउमा आएर मलाइ स्याँइ लाउँथे ।
कति चाँही मेरो सिको गर्दे कतै फालिएको कागजको टुक्रा लिएर साहुनीका अगाडि पुग्थे तर बिस्कुटको साटो साहुनीको थप्पड खान्थे र हिस्स पर्दे फर्कन्थे ।
मेरो चिर्कटोमा बाले खै के लेख्नु हुन्थ्यो मैले कहिल्यै हेरिन, मलाई दिने बित्तिकै म बत्तासिँदै सिधै पसलमा पुग्थें, तर सधै एउटै खाले बिस्कुट दिन्थिन् ति साहुनीले ।
एक दिन मैले अर्के बिस्कुट मागे तर उनले यहिनै लेखेको छ यसमा त त्यो त दिन मिल्दैन यदि त्यो चाहिन्छ भने अर्के चिर्कटो लेखेर ल्याउनु ।
तर मलाई त्यो बिस्कुट यति धेरै खान मन थियो ।
बासँग गएर अर्को चिर्कटो लेखाएर आउने पनि आँट आएन । म दिमाग लगाउन थाले । ति साहुनीको छोरा पनि मेरै कक्षामा पढ्थ्यो । उसको नाम योगिन्द्र थियो ।
उ आमाका आँखा छलेर पसलका सामान लिन अक्सर सफल नै हुन्थ्यो । म पसलबाट वायु बेगमा पर स्कुलको ग्राउन्डमा पुगें त्यहाँ उ पाँचढुङ्गे खेल्दै थियो ।
मैले उसलाई बोलाएर मलाई त्यो नयाँ आएको बिस्कुट खान मन लागेको बारेमा कुरा गरेँ । उसले मलाई हेर्दै भन्यो त्यो त महँगो छ नि अनि कहाँ आमाले तँलाइ दिन्छिन् त । मैले जिद्दी गरें । बरु तँलाइ के चाहिन्छ भन् म त्यही दिन तयार छु । उसले मौका पाएछ क्यार । प्वाक्क भनि हाल्यो । मलाइ तेरो नया चिलको चित्र भएको माने कपी दे न त ।
अघी कक्षामा मेरो कपीलाई ओल्टाइ पल्टाइ हेर्दे त थियो । उसलाई खुब मन परेछ क्यार । म अकमक्क परेँ ।
कसो गरौं, त्यो बिस्कुट नखाइ त भएकै छैन । मेरो जिब्रोबाट पानी नै निस्किसक्यो । मैले आँट गरेर सम्झौता गर्ने बिचार गरेँ ।
कपीको कुरा जसो तसो मिलाउँला । खोजी भयो भने के के बहाना बनाएर टारौंला ।
यति भनेर हामी दुईबिच गोप्य सम्झौता भयो । तर त्यो माने कपी योगिन्द्रेले स्कुल लिएर आउन नपाउने । घरमा नै राखेर नोट बनाउने ।
….अचानक मेरो रिसको पारे चड्यो । थुक्क तँ गधाले यति कुरा पनि लुकाउन सकिनस् हैन । बालाई सुनाइ छोडिस् । मेरो नाक अब यो भन्दा धेर सहन नसक्ने स्थितिमा पुगिसकेको थियो । कोदोको पिरो गन्धले मेरो टाउको नै दुख्न थालिसकेको थियो ।
……………………………………
तलबाट हजुरआमाको आवाज आउन थाल्यो । बालाई हप्काउँदै हुनहुन्थ्यो । तँलाइ केही नगर भनेको हैन । हेर अब त्यो बालखः कहाँ गयो होला । तिन घन्टा भै सक्यो । भोक पनि लागिसक्यो होला ।
यतिकैमा बाको आबाज पनि सुने ….ह्या आमा पनि कति किचकिच गर्नुहुन्छ । मैले कहाँ कुट्न आटेको थिएँ त । त्यसले गरेको गल्ति पो बुझाउँदै थिएँ ।
हेर्नुस् त त्यसले के गर्यो, झन अँग्रेजीका माने लेख्नलाई त्यती महँगो माने कपी किनेर ल्याइदेको थिएँ । बिस्कुटसँग साटेर खाएछ । त्यस्ले बिस्कुट खान नपाएको थियो र ।
धन्न म बेलुका घर आउँदा कोइरालाको दोकानमा निस्केँछु,,,र योगिन्द्रेले लेख्दै गरेको देखें । बाको जङ्ग्याइमा कमी आएको मैले महशुस गरेँ ।
सोचे अब चाँही अति नै भयो सहनै नसक्ने । अब चाँही निस्कनु पर्ला । धत् कहाँ निस्कनु फेरी भकुन्डो हुन के बेर । अब एकै छिन जसरी भए पनि बस्नै पर्ला ।
तल बाट हजुर आमाको आवाज चर्को आबाज आयो । काँइला,,,,ए काँइला ,,,,
त्याँ परालको माचमा नि हेरिस् ?
पालीमा नि !!! लौ मेरो त धमाधम खोजी कार्य पो हुँदै रहेछ । अब झन डर लाग्न थाल्यो ।
ए दुर्गे,,,,दुर्गे ,,,,त्याँ नि छैन ..
हजुरआमाको चर्को आवाज फेरी मेरो कानमा ठोक्कियो । माथ्लो घरको दुर्गा अँकल पनि मेरो खोजीमा लागेको कुरा थाहा पाएँ ।
घरका सबै जना मेरो खोजीमा लागेपछि अब ढिलो चाँढो म पक्कै पनि भेटिन्छु होला । अब मलाई आफैँ प्रकट हुनु भन्दा भेटिइन नै उचित लाग्न थाल्यो ।
ट्वाक्क ट्वाक्क ट्वाक्क,,,,,,
माथिल्लो तला जहाँ म गायब भएको छु त्यहा चढ्ने भर्याङ्ग चढेको आबाज आयो । लौ अब चाँही मेरो खैरो छैन ,,,पत्ता लगाई सकेछन् क्यार ।
मेरो वरपरका सामानहरु बज्न थाले खुट्टाको टक टक आवाज मेरो वरिपरि आउन थाल्यो ।
खर्याक खुरुक खर्याक खुरुक,,,,,आबाज आयो सायद पल्लो कुनामा छानामा झुन्डाएको डोको भित्रका पुराना टपरी बज्दै थिए ।
अचानक मेरो टाउका माथि के सर्याक्क गर्यो, अनि मैले यसो आँखा माथि तिर लगेँ । एभरेडी टर्चको तिखो प्रकाशले आँखानै तिरिमिरी बनायो ।
ह ह ह ह ह…..लुइरे भेटियो ……..मोटो बाक्लो हाँसो गुन्जियो त्यहाँ । अनि एउटा हात मेरो टाउका तिर आउन थाल्यो । मैले गोबर र कुहाएर कुट्नलाई ठिक्क पारेको पाटको तिखो गन्धको महशुश गरे र सम्झे पक्कै पनि दुर्गा अँकल हुनुपर्छ ।
मेरो कपालमा च्याप्प पारेर माथी तान्न थाल्नु भो । म कोदोको भकारीको पुछार सम्म नै पुगेको ले तान्न निकै सकस पर्यो उहाँलाई । मेरो त कुरै छोडौं कपालमा समातेर सिङ्गै माथि उचाल्दा म पीडाले झन्डै चिच्याएको ।
अरुबेला यति गरेको भए मेरो चिच्याइले त्यो गहिरो नै उचालिने थियो अनि माथ्लो र तल्लो घरमा झगडा पक्कै नै पर्ने थियो ।
तर आज अवस्था फरक थियो । मलाई बाहिर निकालेर पुरुषार्थ गरेझैं दुर्गा अँकलले मलाई ढुन्मुन्याउदै आँगनमा ल्याउनु भयो ।
म लाजले मरे जत्तिकै भएको थिएँ । कसैका अनुहारमा हेर्ने आँट ममा थिएन । आखिर म फटाहा कहलिएको थिएँ ।
नयाँ माने कपीसँग बिस्कुट साटेर खाने ….
हजुरआमा नजिकै आउनु भयो र मलाई तानेर भित्र भान्सामा लिएर जानु भयो ।
भात पस्किदिनु भयो,,,,अनि फकाउँदै यस्तो गर्नुहुँदैन अबदेखि नगर्नु भन्दै सम्झाउँन थाल्नुभयो । परतिर अँगेनो लिप्दै गरेकी मेरी ममी म तिर हेर्दै भन्दै हुनुहुन्थ्यो,,,,,तँ काम नै तेस्तै गर्छस्..के गर्नु र..तेरो बुद्दि खै कहिले आउला….भन्दै खुइ काड्न थाल्नुभो ।
म चाँही यी उपदेश भन्दा मेरो ढाडलाई मनमनै भन्दै थिए,,,,,देखिस् त मैले तँलाई कसरी जोगाएँ । …………………. मेरो माने कपी फिर्ता आइसकेको थियो । खै थाहा छैन बिस्कुटको पैसा बाको खातामा चढ्यो या के गर्यो ।
तर मलाई त्यही अँग्रेजीका माने लेख्न बाले किनिदिएको माने कपीको सराप लाग्यो क्यार,,अँग्रेजी आजसम्म मेरो दिमागमा चाहिने जति घुस्न सकेन ।