विर्तामोड । पुष्पण प्रधान नेपाली संगीतमा एउटा नयाँ प्रयोगका अभियन्ता हुन् । उनले गाएका गीतहरु नयाँ शैलीका छन् । उनका प्राय गीतहरु अत्यन्तै हाइ पीचमा छन् । जसका कारण उनले नेपाली संगीत क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदैछन् । पुष्पण सामसिङ चिलाउने चियाबगान डुवर्स पश्चिम बंगाल भारतका बासिन्दा हुन् । उनले पुराना नेपाली संगीतका श्रष्टाहरुलाई मार्गदर्शक माने पनि उनी नेपाली युवा श्रोतामाझ लोकप्रिय बन्दै गएका छन् ।
उनले सन् १९९९ देखि नेपाली संगीत क्षेत्रलाई आत्मसात गरेर अगाडि बढिरहेका छन् । तर उनी भन्छन्, ‘मैले संगीतको कुनै औपचारिक कक्षा लिएको छैन । म गाउँछु । तर त्यो मैले गाएको होइन, म भित्र एउटा यस्तो शक्ति छ जस्ले मलाई गाउन लगाइरहन्छ । म गाइरहन्छु ।’
उनको ‘पंक्षी फर्केर स्वदेश आउ’ गीत दुई लाख १५ हजार भन्दा बढी पटक युट्युबमा हेरिसकिएको छ । पुष्पण भन्छन्, ‘यही गीतले मलाई पुष्पण भनेर चिनायो । अनि युवा श्रोताले पनि त्यतिकै मनपराइदिनु भयो ।’ उनको अर्काे गीत ‘धिन धिना’ ले अर्को सफलता पायो । उनको अर्काे गीत ‘माया’ लाई युट्युबमा चारलाख भन्दा बढी पटक हेरिसकिएको छ ।
प्रतिभा भएर पनि भारतमा बसेर नेपाली गीत संगीतलाई निरन्तर दिनु भनेको फलामको चिउरा भन्दा पनि कढा बस्तु चपाउनु जस्तो भएको उनको अनुभूति छ । उनी भन्छन्, ‘एउटा गीत रेकर्ड गरेर स्रोतासामु ल्याउन मात्र ८० देखि ९० हजार भारतीय रुपैयाँ खर्च हुन्छ ।’ त्यति मात्र होइन सिडि घर घर गएर बेच्नुपर्ने बाध्यता भएको उनले गुनासो पोखे । पुष्पनले भने, ‘मैले सन् २००१ मै त्यो सब भोगिसकेको छु । त्यसपछि पनि त्यस्तो ठूलो फरक परिस्थिति छैन भारतमा ।’
उनलाई जब क्रिपा अनप्लग सिजन वानमा बोलाएर गीत प्रस्तुत गर्न लगाइयो त्यसपछि उनले धेरै चर्चा पाए । त्यसपछि युट्युबमा उनी एकाएक चर्चामा आए । पुष्पण भन्छन्, ‘म त युट्युबले स्थापित गरेको एउटा गायक हुँ ।’ उनले ‘जिन्दगी रक्स’ फिल्ममा गीत गाउने मौका पाए । उनको सोही फिल्ममा समेटिएको ‘माया’ गीतमा उनको आफ्नै रचना, संगीत र गायन रहेको छ ।
अचेल युवा पुस्तामा नाच्ने किसिमका गीत बढी लोकप्रिय बनेका कारण उनलाई खल्लो अनुभूति भएको उनले सुनाए । ‘संगीत भनेको सुनेर आनन्द लिने एउटा माध्यम हो,’ उनले भने, ‘नाच्ने गीत पनि चाहिन्छ तर सुनेर आनन्द लिने गीतहरुको पनि उत्तिकै जरुरी छ ।’ उनले अहिलेसम्म ट्रयाकमा गीत नगाएको सुनाए । मञ्चमा गाउँदा बाजा गाजासहित गाउनुको मजा अर्कै हुने गरेको उनको अनुभव छ ।