
काठमाडौं । टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’ हिट भैसकेको थियो । झापाको एउटा संस्थाले स्टेज कार्यक्रमका लागि जितु नेपाललाई बोलायो । जितु गएर प्रस्तुति दिए । उनको प्रस्तुतिमा दर्शक रमाए ।
त्यहि कार्यक्रममा केहि दर्शकले सोधे ‘भोक लाग्यो खै त ?’ जितुले काम विशेषले आउन नभ्याएको जानकारी दिए । अन्तिममा दर्शकले आफ्नो तर्फबाट भन्दै एउटा पोको जितुलाई थमाउदै भने ‘हाम्रो तर्फबाट भोक लाग्योलाई उपहार दिनु होला ।’
राम्रो कागजले र्यापिङ गरेको चिटिक्कको पोको थियो । जितुले खोलेनन् । एअरपोर्टमा उत्रिने बित्तिकै जितुले देवीराम पराजुली -भोक लाग्यो)लाई फोन गरेर भने ‘तँ छिट्टै एअरपोर्ट आएज त । तँलाई झापाली दर्शकले उपहार पठाएका छन् ।’
देबिराम हतार-हतार एअरपोर्ट पुगे, के उपहार होला भन्ने कौतुहलता कौतुहल बोकेर । उनले एअरपोर्टमै जितुकै अगाडि दर्शकले दिएको उपहारको पोको खोलेर हेरे । दालमोठ र चिउरा रहेछ । दुबै मरि मरि हाँसे ।
आफैंले जन्माएको थेगो
टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’ सुरु गर्दा सुरुमा दुई भागका लागि अनुबन्ध भएका थिए देवीराम । स्क्रिप्ट त हुन्थ्यो तर कतिपय संवाद कलाकार आफैलाई सिर्जना गर्ने अधिकार पनि थियो ।
देबिराम सम्झन्छन्, ‘बाले कान्छी आमा ल्याएपछि आमा र म गाउँबाट काठमाडौ जानुपर्ने दृष्य थियो ।’ त्यतिबेला देविराम निकै दुब्ला थिए । उनले सिचुएशन अनुसार आमा भोक लाग्यो भन्ने संवाद आफैंले सिर्जना गरेर बोले । दुई भागको सुटिङ सकिए लगत्तै उनको काम सकियो । उनी लागे फिचर फिल्म ‘समयको डोरी’ सुटिङका लागि गोरखातीर । उनी सुटिङमै ब्यस्त थिए । जितुले फोन गरेर भने ‘तँ छिट्टै काठमाडौ आउन पर्ने भयो, आयोजकले तेरो संवाद मन पराए ।’
केहि दिनलाई सुटिङ थाँती राखेर काठमाडौ फर्किए । त्यसपछि जिरे खुर्सानीमा उनको यात्रा निरन्तर चल्यो । जिरे खुर्सानीको ५१९ भाग मध्ये ४० भाग जतिमा उनी देखिएनन् । अरु सबै भागमा छन् । अनलाइन खबरबाट