काठमाडौं । अभिनेत्री सञ्चिता लुइँटेलले ०५८ सालमा प्रदर्शन भएको ‘अप्सरा’ फिल्मबाट करिअर सुरु गरेकी थिइन् । कलेज पढ्दै गर्दा रमेश बुढाथोकीको निर्देशनमा बनेको अप्सरामा शीर्ष भूमिका निर्वाह गरेकी उनले त्यसपछि तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिन् ।

तर, अहिले आएर उनले पुनः शीर्ष भूमिका निर्वाह गरेकी छिन् । उनी दर्शकमाझ अब ‘राधा’ बनेर आउँदै छिन् । उनलाई फिल्मकर्मी तथा दर्शकले अप्सरा भनेर पनि चिन्ने गर्दछन् । अब भने आफूलाई राधाका रूपमा पहिचान मिल्ने विश्वास उनकोछ । ‘अब दर्शकले मलाई राधाको रूपमा पाउनुहुनेछ,’ सञ्चिता भन्छिन्, ‘अप्सरापछि मैले शीर्ष भूमिका निर्वाह गरेको फिल्म हो यो । जहाँ जाँदा पनि सबैको तारिफ पाएकी छु । त्यसैले म निकै आशावादी छु ।’
पहिलोपटक अप्सरामा अभिनय गर्दै गर्दा ‘आशीर्वाद’मा अनुबन्धित भएकी थिएँ । अहिले राधामा काम गर्दै गर्दा उनलाई गुनगुनको अफर आयो । त्यसकारण उनले राधालाई फिल्म अभिनयमा पुनर्जन्मका रूपमा हेरेकी छिन् । ‘केही वर्षको ग्यापपछि मैले पुनः अभिनय थालेँ । त्यसपछि मलाई लगातार नै अफर आइरहे,’ उनी भन्छिन्,‘नाइँ नभन्नू ल–३’, ‘आरोप’, ‘शिवा’लगायतका फिल्मपछि अहिले राधामा शीर्ष भूमिकामा छु । पहिलाझैँ दर्शकको माया पाउने विश्वास मलाई छ ।’
योगेश घिमिरेको निर्देशनमा बनेको राधामा सञ्चिता इलाम, श्रीअन्तुकी स्वाभीमानी युवतीको भूमिकामा छिन् । निर्देशक योगेशसँग ‘नाइँ नभन्नू ल–३’ सुटिङका क्रममा कुरा भएको र उनले त्यतिवेलै राधाको कथा सुनाएको सञ्चिता बताउँछिन् । ‘नाइँ नभन्नू ल–३’को वेलामा योगेशजीले राधाको बारेका कुरा राख्नुभएको थियो ।
त्यतिवेला म अलिक मोटी भएकीले आफ्नो अवस्था बताएकी थिएँ । तर, उहाँले आफ्नो कथाकी पात्र पनि मजस्तै फिगरकी भएकाले म फिट हुने बताउनुभएको थियो,’ सञ्चिताले भनिन्, ‘झन्डै तीन वर्षपछि राधा बन्यो । योगेशजीले मलाई नै अफर गर्नुभयो ।’
राधामा सञ्चिताका साथ जीवन लुइँटेलले अभिनय गरेका छन् । फिल्म शुक्रबार अर्थात् १२ कात्तिकदेखि देशव्यापी प्रदर्शनमा आउँदै छ । राधाप्रति निर्देशक योगेश मात्र होइन, अभिनेत्री सञ्चिता र अभिनेता जीवन पनि निकै आशावादी छन् । निर्देशक योगेशले राधालाई पूर्ण मनोरञ्जक नारीकेन्द्रित फिल्मको रूपमा व्याख्या गर्ने गरेका छन् ।