धरान । अखिल नेपाल चलचित्रकर्मी संघले आगामी पौष २७ देखि माघ २ गते सम्म धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्ने भएकोछ। संघले महोत्सवमा सहभागिताका लागि संसारभरीका चलचित्रकर्मीहरुलाई आवेदन दिन सुचना जारी गरेको छ।

पाँच दिनसम्म चल्ने महोत्सवमा विभिन्न अवार्डहरु वितरण गरिने संघका अध्यक्ष केपी पाठकले बताए। वितरण हुने अवार्डहरुमा एक लाख रुपैयाँ राशीको ‘गौतम बुद्ध फिल्म अवार्ड’, ५० हजार राशीको ‘सगरमाथा फिल्म अवार्ड’ र ३० हजार राशीको ‘रारा फिल्म अवार्ड’ रहेका छन्। उत्कृष्ट तीन चलचित्रले अवार्ड पाउने बताइएकोछ। नेपाली चलचित्रको विकासका लागि प्रोत्साहन स्वरुप महोत्सवको आयोजना गरी पुरस्कृत गर्न खोजिएको उनले बताए।
‘हालसम्मका सम्पूर्ण चलचित्रसम्बन्धी कार्यक्रमहरु राजधानीमै हुने गरेका छन्,’ संघका अध्यक्ष पाठकले भने, ‘हामीले मोफसलमा महोत्सव गरेर संसारभरी कस्ता कस्ता चलचित्रहरु चल्ने रहेछन् भन्ने आम नेपालीले थाहा पाउन् भन्ने चाहान्छौं।’ उनले राजधानी बाहिर चलचित्र महोत्सव गर्दा नेपाली मौलिकताको खोजी गर्न सहयोग पुग्ने बताए।
५० वर्ष बितिसकेको नेपाली चलचित्रको इतिहासमा आफ्नो मौलिकता भन्ने अझै प्रष्ट नभएको र मौलिकताको खोजी गर्ने सन्दर्भमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने संघको अपेक्षा रहेको छ।
महोत्वसका लागि क्युवा इजिप्ट लगायतका देशबाट ३० भन्दा धेरै चलचित्र आइसकेको संघले बताएको छ।
संघले मंसिर १० गतेसम्मका लागि आवेदन खुला गरेको छ। संसारका जुनसुकै स्थानबाट अनलाइनमार्फत आवेदन दिन सकिने निर्देशक राजु केसीले बताए। महोत्सवका लागि चलचित्र, डकुमेन्ट्री, ‘शर्ट मूभी’ जुनसुकै पठाउन सकिनेछ।
महोत्सव आगामी वर्षमा सातै वटा प्रदेशमा गर्ने योजना रहेको चलचित्र समिक्षक माधव ढुङ्गेलले बताए।