बिर्तामोड । झापाका पत्रकार तीर्थ सिग्देलको ‘जीवनको गति’ नामको पुस्तक बिमोचन गरिएको छ । बिर्तामोडमा आयोजित एक समारोहमा प्राज्ञ यज्ञराज प्रसाई र अग्रज साहित्यकार सरोज कुमार ओलीेले संयूक्त रुपमा पुस्तकको बिमोचन गरेका हुन् ।
पत्रकारिता गरेको २० बर्षको अवधिमा देखे, भाोगेका कतिपय घटनाहरु सिग्देलले पुस्तकमा समावेश छन् । पुस्तकमा २००७ सालको क्रान्तिपछि ०६२÷६३ सालसम्मको आन्दोलनका कुरालाई सिग्देलले पुस्तकमा अटाएका छन् । विमोचन कार्यक्रममा सिग्देलले आफूले देखेका र भोगेका कुरा पुस्तकमा उतारेको बताए ।
पत्रकार मोहन काजी न्यौपानेले पुस्तक अनुभूति साट्दै पुस्तकमा झापाका सबै तह र तप्कालाई सिग्देलले समेटेको बताए । ‘पुस्तक एउटा निबन्ध हो,’ काजीले भने ‘उहाँले आफ्नो बारेमा लेख्नुभएको छैन, समाजको यथार्थ चित्रण गनुभएको छ ।’
पत्रकार काजीले दुई दशकभित्रमा सिग्देलले देखेको कुरा नै ‘जीवनको गति’का रुपमा प्रकाशन भएको बताए । पुस्तकमा पीडित, शोसित र आवाज विहीनहरुको आवाज समेटिएको काजीले सुनाए ।
‘तीर्थजीले ७ सालको क्रान्तिलाई सुस्म ढङ्गले केलाएको पाएँ, उहाँले निकै खोज गर्नुपर्यो होला, तथ्यहरु निकै बटुल्नुपर्यो होला,’ पुस्तक अनुभूति साट्दै काजीले भने, ‘पुस्तक पढ्न लायक छ, यसबाट धेरैजना लाभान्वित हुनेछन् ।’
इतिहास पढाउनलाई सन्दर्भ सामाग्री हुने गरी सिग्देलले विषयवस्तु उठाएको काजीले बताए । घटनाका शिलशिलाहरु प्रस्टसँग राख्न सकेकाले पुस्तकको वजन बढेको उनले धारणा राखे । १० वर्षको जनयुद्धलाई पुस्तकमा धेरै महत्व दिइएको बताइएको छ ।
जनयुद्धको अवधिमा पत्रकारले भोगेका कुरा पनि पुस्तकमा समावेश गरिएको लेखक सिग्देलले बताएका छन् । पत्रकारलाई समाजलाई कसरी हेर्छ भन्ने कुरा पनि पुस्तकमा समावेश गरिएको बताइएको छ । सरल भाषामा लेखिएकाले पुस्तकमा लेखिएका कुरा सबैले बुझ्न सक्ने टिप्पणीकार काजीले बताए । ।
कार्यक्रमका विशिष्ठ अतिथि साहित्यकार ओलीले जनताले पत्रकारलाई कसरी हेरेका हुन्छन् भन्ने कुरा सिग्देलले सान्दर्भिक ढङ्गले लेखेको धारणा राखे । ‘सबैतिरबाट हेर्दाखेरी यो किताब पढ्न लायक छ,’ ओलीले भने, ‘पुस्तकमा केही कमजोरी पनि छन्, कतिपय सन्दर्भ र घटनाको स्रोत नखुल्नु पुस्तकको कमजोरी हो ।’
प्रमुख अतिथी साहित्यकार यज्ञराज प्रसाईले कतिपय पत्रकारले पत्रकारिता पेशाको बदनाम गरिरहेको समयमा सिग्देलले पत्रकारितालाई उदाहरणका रुपमा पुस्तकमा समावेश गरेको आफूले पाएको बताए । उनले चेतनशील, अलि बढी जानकार, सचेत, समाजमा जिम्मेवार ब्यक्ति पत्रकार हुने धारणा राख्दै पत्रकार र साहित्यकारहरुले समाजलाई एउटा सकारात्मक दृष्टिकोण दिनसक्नु पर्ने धारणा राखे ।
‘कतिपय पत्रकार जति बढी अरुलाई निन्दा गर्न सक्यो उति आफू ठूलो भएको सम्झन्छन्, केही पत्रकारहरुमा पित पत्रकारिताको भूत हावी छ, ब्ल्याकमेलिङ गर्ने पनि छन्, सबैभन्दा जान्ने बुझ्ने आफूलाई ठान्छन कतिपय पत्रकारहरु,’ प्रसाईले भने, ‘यस भीडमा पनि शालिन ब्याक्तित्वको रुपमा तीर्थ सिग्देलले जीवनका गति प्रकाशन गरेका छन् । यसलाई झापाको दर्पण भनेपनि हुन्छ ।’