झापा । दिपेन भेटवाल (२७) कार्यक्रम निर्माता, डकुमेन्ट्ररी/म्यूजिक भिडियो निर्देशक, गायक, मोडल तथा भिजे हुन् ।
झापा धुलाबारीका भेटवाल अहिले सुर्योदय टेलिभिजन, विर्तामोडमा कार्यक्रम निर्माताको रुपमा कार्यरत छन् । उनले २० वटा डकुमेन्ट्ररीमा काम गरिसकेका छन् भने ४ वटा गीत रेकर्ड गरिसकेका छन् ।

निक्कै छोटो समयमा ठूलो फड्को मार्न सफल यी भेटवालले टेलिभिजन पत्रकारितामा भने ०६४ सालमा डेब्यू गरेका हुन् । उनले त्यसवेला माउनटेन टेलिभिजनमा डेढ वर्ष खेलकुद समाचार वाचन गरे ।
त्यस्तै, उनले न्यूज २४ मा मनोरञ्जनात्मक कार्यक्रमको निर्माताको रुपमा समेत २ वर्ष काम गरे । यति मात्र होइन, नेपाल टेलिभिजन प्लसमा समेत उनको कार्यक्रम प्रशारण भएको छ । उनले स्पोर्टस् म्यागजिन नामक कार्यक्रमको निर्माता भइ डेढ वर्षका काम गरेका हुन् । दिपेनले थुप्रै म्यूजिक भिडियोको पनि निर्देशन गरेका छन् । उनले ती भिडियोहरुमा राजधानीकै कलाकारसँग काम गरेका थिए । उनले निर्देशन गरेका उत्कृष्ट म्यूजिक भिडियोहरुमा गायक दिप श्रेष्ठ, गोपाल प्रसाईं, रक्की श्रेष्ठलगायतका स्वर छन् ।
पछिल्लो समय गृह जिल्ला आएर पनि उनले म्यूजिक भिडियोमा काम गर्ने आफ्नो इच्छालाई निरन्तरता दिइरहेका छन् । पछिल्लो समय उनी एउटा आधुनिक गीतमा काम गरिरहेका छन् । गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को गीतमा उनी अभिनय गर्दैछन् । विशेषतः उनी पप, आधुनिक गीतमा काम गर्न रुचाउँछन् ।
राजधानीमा रहँदा उनले मनोरञ्जन बिटबाट एक अनलाइन पत्रिकामा समेत काम गरे । साइबर गायक डटकम नामक अनलाइनमा उनी गायक गायिकाको इन्टरभ्यू र प्रोफायलहरु लेख्थे । उनले आफ्नै प्रोजेक्टमा दुई डकुमेन्ट्ररी बनाएका छन् । चिया र सेक्ररेट्स अफ मुस्ताङ नामक डकुमेन्ट्ररी उनले बनाएका हुन् ।
उनी सर्ट मूभी बनाउन समेत दख्खल राख्छन् । उनको एउटा सर्ट मूभि ‘फरक मन’ इन्टरफेस नेपालले आयोजना गरेको ६० सेकेण्डको चलचित्रको प्रतिष्पर्धामा टप ४० मा पर्न पनि सफल भयो । अहिले सम्म ४ वटा गीतमा आफ्नो आवाज दिइसकेका उनले २५ वटा गीतको कम्पोज गरेका छन् ।
अहिले स्नातकोत्तर तहको अध्ययन गर्दै गरेका उनले शारदा शिशु सदन, धुलाबारीबाट ०६१ सालमा एसएलसी दिएका हुन् ।
अरु कलाकार, पत्रकारहरु आफ्नो भविष्य खोज्दै राजधानीतिर होमिन्छन् । तर, तपाईं त मोफलमा झर्नु भयो नि ? विवेचनाको प्रश्नमा उनले भने, ‘भूइँचालोको कारण गत वर्ष झापा आए । र, आफ्नै ठाउँमा टेलिभिजन खुलेको थाहा पाएँ । अनि परिवारसँगै बसेर यहीँ काम गर्न पाउँदा किन राजधानी बस्नु ?’
राजधानीलाई उनले सिक्ने माध्यम बनाएँ । र, अहिले आफ्नै जिल्लामा आएर उनी आफ्नो सीपलाई प्रयोग गर्दैछन् ।
बहुमुखी प्रतिभाका भएका यी युवाले भविष्यमा एउटा चलचित्र बनाउने लक्ष्य लिएका छन् । ‘नेपाली समाजले पचाउन सक्ने फिल्म बनाउने मन छ’, उनले भने, ‘एडभान्स प्रविधिको प्रयोगसहित बनाउँछु । र, नेपाली चलचित्र पनि ओस्कारमा जान सक्छ भन्ने देखाउन चाहन्छु ।’
प्रस्तुतिः गौरव पोखरेल