कृष्ण काफ्ले, नेपाली गीत संगीतको क्षेत्रमा चिर परिचित नाम हो । विगत १० बर्षदेखि संगीतकै क्षेत्रमा आफूलाई समर्पित गरेका काफ्लेले आधुनिक,पप, गजल,लोकपप, फिल्मी तथा देशभक्तिलगायत १००भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिइसकेका छन् । संगीतलाई आफ्नो कर्म ठान्ने गायकसगँको कुराकानी —
गायन क्षेत्रमा निरन्तर लागिरहनुभएकाे छ , तपाईको प्रेरणाको श्रोतचैं के हो ?
मेरा घरपरिवार, शिक्षकहरु र साथीभाईहरु
संगीत को सँग सिक्दै हुनुहुन्छ?
म मेरा श्रद्धेय गुरु चण्डिप्रसाद काफ्लेसँग सिक्दै छु ।
संगीतमा लागेर बाँच्न सकिन्छ त?
आजको भोलि नै थुप्रै पैसा कमाएर काठमाडौंमा घर बनाउन त सम्भव छैन तर अथक परिश्रम साधना र धैर्यता गर्न सकियो भने अवश्य बाँच्न सकिन्छ ।
संगीत क्षेत्रमा स्रष्टाहरुको पारिश्रमिकमा ठग्ने प्रवृति छ भन्छन नि ?
मेहनत गरेअनुसार पारिश्रमिक कमी भएको महशुस अवश्य हुन्छ ।
एकल एल्बम निकाल्ने सोंचमा हुनुहुन्छ ?
गीत संगीतको अवस्था बुझेर एल्बमका साथ प्रस्तुत हुने सोचमा छु ।
तपाईँका चर्चित गीतहरु कुनकुन हुन् ?
मेरो पछिल्लो चर्चित गीत नेपाली फिल्म किस्मत २ को पिक्चर हिट हो भने , देखन चम्पा (फिल्म छक्का पञ्जा), ताला चाबी (फिल्म बृन्दावन), माया बस्यो , फूलजस्तो रुप तिम्रो, खाएको कसम फिर्ता, मेरो मुटुको टुक्रा तिमी ( फिल्म लव यु बाबा), दुनियाँ सारा बिर्सेर र पावरफुल बैंशको झट्काले (फिल्म दवाव) लगायतका गीत चर्चित बनेका छन् हो ।
संगीतमा यहाँको प्रवेश कहिलेबाट भएको हो?
गीतहरु सानैदेखि गुन्गुनाएँ पनि औपचारिकरुपमा २०६५ देखि प्रवेश गरेको हुँ । विसं २०६५ मा रेकर्ड भएको दीपक भट्टको शब्द तथा आफ्नै संगीमा आँसुमा डुबाउन्न भन्थेउ बोलको गीत मेरो पहिलो गीत हो ।
संगीत नै किन रोज्नुभयो ?
सानैदेखि मभित्र एउटा संगीत प्रतिको मोह थियो । त्यसैले म यो क्षेत्रमा प्रवेश गरेको हुँ । हालसम्म कतिवटा गीत रेकर्ड गर्नुभयो ?
चलचित्र आधुनिक, पप, लोक पप, देशभक्तिलगायतका थुप्रै विधाका गीतहरुमा करिब १०० भन्दा बढी गीतहरु रेकर्ड भइसकेका छन् ।
यहाँको विचारमा संगीत कस्तो खालको क्षेत्र हो ?
यो एकदमै संघर्षशील क्षेत्र हो । यहाँ कयौं प्रतिभा भएका व्यक्तिहरु पनि आर्थिक अभावका कारण पछि परेका छन् । यो क्षेत्रमा पैसा भएका तर कम क्षमतावान् व्यक्तिहरुको पनि बाहूल्यता रहेको छ । उनीहरु पैसाको भरमा अगाडि बढेका छन् । यी सबै कुराहरु देख्दा कहिलेकाहीं नेपाली संगीतको क्षेत्रप्रति नै वितृष्णा जागेर आउँछ,समग्रमा भन्नुपर्दा नेपाली संगीतको क्षेत्र सगरमाथा चढेभन्दा कम छैन ।
संगीत के हो?
संगीत एउटा यस्तो चिज हो जसबाट मान्छे त के पशु पनि मुग्ध रहन्छन् । समाजमा सकारात्मक परिवर्तन ल्याउने एउटा गतिलो कसी हो ।
यो क्षेत्रमा नयाँलाई कतिको गाह्रो छ ?
जुनै क्षेत्रमा पनि नयाँलाई गाह्रो त भइनै हाल्छ अरु जस्तै यो क्षेत्रमा पनि एकदमै गाह्रो छ । त्यसमा पनि नयाँलाई त यो क्षेत्रमा संघर्ष गर्न एकदमै गाह्रो छ ।
मन परेको गायक र संगीतकार ?
मनपरेको संगीतकार र गायक भन्नुपर्दा प्रायः सबै गायक र संगीतकारलाई मैले सुन्नेगर्छु । सबै किसिमका गीतहरु सुन्ने र गाउने भएकोले मलाई सबैशैलीका संगीतकार,तथा गायकहरु मन पर्छ, तर पनि भन्नुपर्दा नेपालको हकमा नारायणगोपाल, भक्तराज, र दीप श्रेष्ठ इण्डियाको हकमा सोनु निगम, अरजितसिंह मेरो दिलमै बस्न सफल गायक हुनुहुन्छ ।
अन्त्यमा तपाईलाई मन पर्ने कुराहरु ?
आफू फ्रि भएको टाइममा कुनै कार्यक्रमहरुमा सहभागी हुन पाउँदा मलाई धेरै खुशी लाग्ने र त्यसैमा म रमाउने गर्छु ।
सबैभन्दा बढी खुशी अहिलेसम्म के मा पाउनुभयो ?
८ बर्षीय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लव यु बाबा जुन विश्वको कान्छो निर्देशकले बनाएको चलचित्र भनी विश्व किर्तिमान राख्न सफल भयो । जसले गिनिज वल्र्ड रेकर्ड बुक पार्टी सिपेन्टको रुपमा प्लेब्याक सिंगरको हकमा प्रमाण पत्र पाएका छन् । जुन चलचित्रको टाइटल गीत (मेरो मुटुको टुक्रा तिमी) मेरै आवाजमा थियो ।