काठमाडौं ।
नेपाली ललितकला क्षेत्रका अग्रज व्यक्तित्व केशव दुवाडीको नाममा स्थापित केशव दुवाडी स्मृति प्रतिष्ठान नेपालको तेस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ सो अवसरमा नेपाली कला क्षेत्रमा योगदान पुर्याएबापत कलाकार मनुजबाबु मिश्रलाई यस वर्षको केशव दुवाडी स्मृति सम्मान–२०७३ बाट सम्मानित गरियो ।
सो कार्यक्रमका प्रमुख अतिथि मूर्तिकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीले दुवाडी अत्यन्त सरल, सक्रिय, जागरुक, धर्मपरायक र स्वाभिमानी कलाकार रहेको बताए । उनले भने, ‘दुवाडीसँग २०२२ सालदेखि संगत गरेको हुँ । उहाँ अत्यन्त कुशल र कर्तव्यपरायण कलाकार हुनुहुन्थ्यो ।’
सो कार्यक्रममा ज्ञानेन्द्र विवशले कलाकार मनुजबाबु मिश्रको कला यात्रा र उनले नेपाली कला क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
अर्का अग्रज कलाकार राधेश्याम मुल्मीले नेपालमा दुवाडीले कलाक्षेत्रमा विशेष योगदान र मनुजबाबु मिश्रले पनि विशिष्ट योगदान पु¥याएको बताए । कलाकार कला समीक्षक रमेश खनालले केशव दुवाडी राष्ट्रकै मूधन्र्य व्यक्तित्व भएकाले सबैले उनको योगदानको कदर गर्नुपर्ने बताए । त्यस्तै सुधा दुवाडीले प्रतिष्ठानको आयव्यय प्रस्तुत गरेकी थिइन् ।
नेपाली कला र कलाशिक्षाका क्षेत्रमा दुवाडीको विशेष योगदान रहेको छ । वि. सं. १९७८ सालमा विराटनगरमा जन्मिएका दुवाडीले जेजे स्कूल अफ आर्टस् बम्बईबाट स्नातक गरेका थिए ।
उनले जुद्धकला पाठशालामा राणाकालमै पढाएका थिए भने ललितकला महाविद्यालयका संस्थापक प्रिन्सिपलका रुपमा उनले २०२४ देखि ०३० सालसम्म काम गरेका थिए । त्यस्तै २०२२ सालमा कला क्षेत्रको विकास गर्ने उद्देश्य राखी स्थापित नेपाल ललितकला संस्था (नाफा) का संस्थापक उपाध्यक्ष समेत रहेका थिए ।
२०५३ सालमा निधन भएका उनको कला क्षेत्रमा रहेको योगदानलाई चिरस्थायी बनाउन २०७१ सालमा केशव दुवाडी प्रतिष्ठानको स्थापना गरिएको हो ।