झापा । विगत केही वर्ष यता स्पेनको बार्सिलोनालाई आफ्नो कर्मथलो बनाउँदै आएका नेपाली युवा गायक तुलसी शिवाकोटी यतिवेला नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन कम्मर कसेर लागिपरेका छन् ।
झापाको सुरुङ्गामा बुवा रघुनाथ शिवाकोटी र आमा अम्बिकादेवी शिवाकोटीको कोखबाट जन्मिएका उनको ‘गर्नु गर्यो कलियुगको इन्टरनेटले’ बोलको गीतले राम्रै चर्चा बटुल्न सफल भयो । प्रवासबाटै संगीत संघर्ष गरिरहेका थोरै व्यक्तिहरु मध्येका तुलसी पनि एक हुन्, जो पछिल्लो समय नेपाल गीतसंगीतको क्षेत्रमा निक्कै सक्रिय भएर लागि परेका छन् ।
शिवाकोटी सानैदेखि गीत संगीतको क्षेत्रमा चासो राख्थे । विद्यालयमा पढ्दा पनि उनी विभिन्न नाटकहरुमा अभिनय गर्नेदेखि लिएर कार्यक्रमहरुको सञ्चालन गर्ने गर्थे । कलेजका कार्यक्रमहरु गीत गाएर आफ्नो सहपाठीहरुको शिवाकाटीले सधैँ ताली पाउँथे । त्यस वेला घरमा नियमित रुपमा रियाज गर्ने गरेको उनले सुनाए ।
शिवाकोटीको संगीत प्रतिको लगाव देखेर परिवारबाट संगीतमा लाग्न प्रेरित त गरियो । तर, त्यसवेला उनले पढाईका कारण संगीतलाई धेरै समय दिन सकेनन् । पछि ‘विए’ सम्मको अध्ययन सकेर उनी रोजगारीका लागि सन् २००६ मा इजरायल गए । ६ वर्ष विताए । त्यहाँ पनि उनी विभिन्न किसिमका सांगीतिक कार्यक्रमहरुमा सहभागी भए । सबैको साथ, सहयोग र हौसला प्राप्त भइरहँदा संगीत क्षेत्रमा अझ लागिरहन उनलाई प्रेरणा मिल्यो । र, संगीतलाई अझ बढि समय दिन थाले ।
पछि सन् २०१२ मा स्पेनको बार्सिलोनामा उनी पुगे । त्यसपछि उनको गीत निकाल्ने क्रम शुरु भयो । उनले भर्खरै मात्र आफ्नो पहिलो एकल एल्बम निकालेका छन् । ‘मुहार’ नाम दिइएकोे उक्त एल्बममा ५ वटा गीत समावेश गरिएको छ । जसमा ‘कस्तो भयो होला नेपाल, मेरो गाउँ..’, ‘तिम्रो मेरो प्रेम कहानी..’, आमा मेरी आमा..’ लगायत समावेश गरिएका छन् । एल्बममा संगीत निरज श्रेष्ठ, रियाज शिवाकोटी र बिनोद बराइलीको छ भने रोजी लाबुङ्ग राई, कल्पना खरेल र सुमन बैरागीको शब्द रहेको छ ।
अहिले प्रवासमा आयोजना हुने विभिन्न सांगीति कार्यक्रमहरुमा तुलसीलाई बोलाइराखिन्छ । आफ्नो प्रस्तुति दिने क्रममै उनी साइप्रस, बेल्जियम होलैंड जर्मन बहराइन लगायतका देश पुगिसकेका छन् । उनलाई सन् २०१६ मा अन्तर्राष्ट्रिय कलाकार मञ्चले सम्मान पनि गर्याे ।
(साउन १४ गतेकाे बिबेचना दैनिकमा समेत प्रकाशित छ । )