बेचेका छन्, बेचिरहेका छन् यहाँ
मान्छेहरु आफुलाई
तिमी पनि सक्छौ
बेच्न
तिम्रा इच्छा चाहनाहरू
कलमको भरमै
बाँचेको भए त्यो जिन्दगी
बेच कसैलाई
म जस्तै नराखी रीस – राग
अनि
नउठाइ इर्ष्याका चाँगहरू !
म, मेरो मश्तिष्कलाई
कलमको रुपमा
किन्यो कसैले, किनोस् ।
फेरि पनि
किन्छ कसैले, किनोस् ।
खुशिसाथ बेच्छु म
चल्ला दलाल अलिअलि
बजारैपिच्छे भाउ-भाउमा
त्यसपछि
खुशीले निमोठ्यिउँ कि
आनन्दसँगै उत्ताउलिउँ
कस्लाई किन चासो हुन्छ यहाँ ?
केवल
मैले मेरा लागि हो ‘बेचेको’
अनि मेरै
केवल मेरै हो ‘कलम’
स्वतस्फुर्त रुपमा
आफ्नो कमाउधन्दा बलियो बनाउन
आफ्नो अघिपछि, दायाँवायाँ
अनि
वरपरसम्म चिनिन र चिनाउन
आफ्नै एकल बहुमतीय निर्णयले
बिक्री गरेको हुँ ।
होला परेँ हुँला
लोभमा, आश्वासनमा, उक्साहटमा
तर
अन्तिम निचोडको अधिकार
मैभित्र निहित थियो
लगाइएन ठेक्कापट्टा
मागिएन शिलबन्दी आवेदन पनि
क्षणभरको कोठे र ओठे कुराकानीमा
सिधै बिक्री भयो ‘कलम’ ।
मात्र
काम भनेको
लेख्नु अनि लेखिरहनु
छाप्नु अनि छापिरहनु
अरुका बारे हावादारी, मनगढन्ते
अपाच्य, समाजलाई पाच्य हुने
र
उसका बारे नानाथरी, मनैगढन्ते
सबैलाई जबरजस्ती
पाच्य बनाउँदै लेख्नुपर्ने
वस् !
पुग्छ यती भा’
चल्छ जिन्दगी,
चलाउनु न छ कसैलाई जलाएर
कसैलाई कहलाउनु छ
दामको भरमा उठाउनु छ नाम पनि
हो, यसैका निम्ति हो
मेरो
बिक्री भएको कलम