खै ! अब फेरि कहिले आउँछौ र ‘भानु’ !
विलीन हुँदै जाँदोछ आज
नेपाली भाषा
काव्यमा, कथामा
गफगाफमा अनि सबै- सबै लेखनीमा
पनि ।
आफ्नै मनपरी मुढेबलमा
स्वार्थलिप्साले
निथ्रुक्कै भिजेका छन्
कैयौँ तिम्रा ‘म’जस्ता चेलाहरू !
साहित्यिक व्यक्तित्वको
गरिमामय छटा छाँटन
पैँचो, सापटसम्म भए नि हुन्थ्यो
छिन्तिमै लिन्छन्
आफुखुशी प्रयोग गर्छन्
अझ भनूँ
विना अनुमति
डकैत बनी सिधै अपहरण गर्छन्
छरछिमेकका शाब्दिकसम्पति ।
जब
आफ्नो मन भुल्नेहरु छन् यहाँ
आफ्नो धन भुल्नेहरु छन् यहाँ
आफ्नो पन भुल्नेहरु छन् यहाँ
अनि जीवन भुल्नेहरु छन् यहाँ
तब
कसरी समेटौँ ‘म’ यो सब ?
एक्लो हुटिट्याँउ बनेर
सक्छु र अकाश थाम्न
त्यो नेपाली शब्दशील्पको ?
‘च्वच्वच्वच्वच्व’
विचरो
साँच्चै बबुरो ‘म’
बस्छु मन दुखाएर , मन लुकाएर ।
तिम्रो सम्झनामा
आज चाहीँ मन फुकाएर
पोल लाएको हुँ
प्रत्येक अाषाढ २९ मा
आँट गरेर
अरुका अघिल्तिर ठाँट लाउँछु
‘म’ कवि बनिएर
तर भानुभक्त तिमी ‘भानु’ हौ
‘भानु’ रह्यौ
म ‘भानु भक्त’ हुँ
त्यसो र त
तिमीले दिनुपर्छ सँधै बरदान
‘म’जस्ता तिम्रा चेलालाई
त्यसको मूल्यको बदलामा दिन्छु
‘म’ माफी लिएर
यिनै शब्द-शब्दले मात्र
श्रद्धासुमन तिमीलाई ।
– प्रतिभा चौक, पृथ्वीनगर , झापा हाल अमेरिका